झापा,असोज १४ । कोशी प्रदेश सरकारले आगामी माघ ११–१३ सम्म लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा पहिलो पटक लगानी सम्मेलन हुन लागेको हो । लगानीको वातावरण सिर्जना गर्न र औद्योगिक वातावरण रहेको सन्देश प्रवाह गर्न सम्मेलन गर्न लागिएको जनाइएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो । सरकारले निजी क्षेत्रका सहकार्य र समन्वयमा सम्मेलन गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो । सोहीअनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ । प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड खर्च अनुमान गर्दै बजेटसमेत विनियोजन गरेको छ । लगानी सम्मेलनमा भारत र तेस्रो मुलुकका व्यवसायीलाई समेत आमन्त्रण गरिनेछ । प्रदेशका सम्भावित आयोजनाका क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ । साथै प्रदेशले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले पब्लिक प्राइभेट र पार्टनरसिप (पीपीपी) मोडेलमा लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम संलग्न गराइने जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्