द्रोण अधिकारी,
भद्रपुर । वैकल्पिक राष्ट्रिय सडकको रूपमा निर्माण भइरहेको हुलाकी सडक निर्माण पूरा नहुँदै भत्कन थालेपछि संरक्षणको जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाको कामको गुणस्तरप्रति प्रश्न उठेको छ ।


पूर्व—पश्चिम तराईको दक्षिणी क्षेत्रको विकासको आधारको रूपमा हेरिएको मध्य तराई लोकमार्ग हुलाकी सडकको निर्माणाधीन काम गुणस्तरहीन रहेका कारण निर्माण पूरा नहुँदै भत्कन थालेको हो ।
सडक निर्माणको समयमा प्राविधिक कर्मचारीको निगरानी कमजोर हुँदा हुलाकी सडकको पूर्वी खण्डअन्तर्गत भद्रपुरको झापा चौक—राजगढ सडकमा निर्माण ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण कालोपत्रे निर्माण अवधिमै भत्किएको हो ।

सडक निर्माणको ३ वर्षकै अवधिमा २० किलोमिटर सडक पार गर्दा दर्जनौं खाल्डाले गुणस्तरीय काममाथि व्यंग्य गरिरहेको भेटिन्छ । हुलाकी सडकको पूर्वी ट्रयाक झापा खण्डको झण्डै ४२ किलोमिटर सडक लगभग कालोपत्रे सम्पन्न गरिएको भनिएपनि दर्जनौ ठाउँमा हिड्न असहज हुने खाल्डो परिसकेको छ । नियामकको कमजोरीको फाइदा लिँदै निर्माण कम्पनीले कामका लागि काम भन्ने शैलीमा सडक बनाएको कारण सडक निर्माण भएको ३ वर्ष नपुग्दै दुर्घटनाको जोखिम बढाउने खाल्डा देखिन थालेको स्थानीय बताउँछन्् ।

यसैगरी सोही सडकअन्तर्गत लिङ्क रोडको रूपमा रहेको चारआली—केचना सडकखण्डको निर्माण कार्यको गुणस्तरमाथि पनि प्रश्न उठेको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरिसकेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा अनुगमनमा नपुग्दा गुणस्तरमाथि प्रश्न उठेको हो । मेची राजमार्गको केचना–भद्रपुर सडकखण्डमा खाल्डा देखिन थालिसकेका छन् । चर्किएको भत्किएको सडक मर्मत नगर्दा केचना—चारआली सडक पनि जीर्ण हुन थालेको छ ।

सडक निर्माण गुणस्तरबारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवालगायत सरकारी नियामकको भूमिका रहनुपर्नेमा यी निकाय मौन देखिएका छन् । सडक निर्माणको गुणस्तरमा मनोमानी गरेको निर्माण कम्पनीले पुल तथा कल्भर्ट आसपास बाँकी राखेको काम नगर्दा सडकको अवस्था जीर्ण देखिन थालेको छ । त्यस्तै निर्माण सम्पन्न कालोपत्रेको काम पनि सम्झौता अनुसारको नहुँदा भत्कने, चर्कने समस्या आइसकेको छ । निर्माणकै चरणमा भत्केको सडक पछि मर्मत गरेर निर्माण ठेकेदारले सरकारलाई बुझाउने परिपाटीको कारण काम गुणस्तरहीन भएको स्थानीयहरू बताउने गर्छन् ।

तीन वर्षमा सडक निर्माणको काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७१÷७२ बाट सुरू भएको यस आयोजनाका लागि पटक पटक म्याद थप गर्दा समेत निर्माण पक्षले नाली बनाउने, कल्भर्ट बनाउने, वेस ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गर्दै सम्पन्न गरेको अवस्था छैन । सडक निर्माणको गुणस्तर कायम राख्न स्थलगत रूपमा बस्नु पर्ने परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जाँदा कमसल काम भएको थियो । सरकारी प्राविधिक पक्षबाट गुणस्तरमाथि नियमित निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम गरिएको सडक भत्कन थालेपछि वर्षातमा खाल्डाका कारण सडक दुर्घटना बढेको गुनासो आउन थालेको छ भने हिउँदमा सडक आसपासका बस्तीमा धुलोको समस्या देखिन थालेको आसपासका बासिन्दाले दुखेसो गर्न थालेका छन् ।

हुलाकी सडक परियोजनाअन्तर्गत पूर्व—पश्चिम खण्डको भद्रपुरको झापा चौक—राजगढ क्षेत्रमा निर्माण गरिएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम सुरू भएपछि घरगाउँमा कालोपत्रे सडक आएकोमा खुसी हुने स्थानीय दुःखी बन्न थालेका छन् । सवल सडक निर्माण नभएपछि वर्षातमा पर्ने खाल्डाखुल्डीमा परिने त्रास स्थानीयमा बढेको छ । विगतमा धुलो र हिले सडकको पीडा सहेका स्थानीय नयाँ सडक पनि गुणस्तरीय निर्माण नभएपछि बिगतको पीडा अन्त्य नहुने चिन्तामा परेका हुन् ।

तीन वर्ष अगाडि गरिएको सो क्षेत्रको कालोपत्रे गुणस्तरहीन भएकै कारण भत्कन थालेपनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल नगरेकोमा स्थानीयको गुनासो आउन थालेको छ । राज्य पक्षको नियामक निकाय उदासीन हुँदा सडक निर्माणमा निर्माणमा ठेकेदारको मनोमानी भइरहेको हल्दिवारी ४ जलथलका गजेन्द्र शिवाकोटीको भनाइ छ । उनका अनुसार मिक्स गिटीले पुर्नुपर्ने सडकको सव—वेस ग्राभेलको काम ठेकेदारले माटोले पुरेपछि जग नै कमजोर बन्दा वेस ग्राभल तथा पिच कमजोर बनिएकोले भत्कन थालेको हो ।

हुलाकी सडकको झापा खण्डमा कालोपत्रे निर्माण लगभग सकिएपनि बिरिङ, माई र रतुवा खोलामा पुल निर्माण सम्पन्न भइ सञ्चालन हुन नसक्दा यो सडक हुँदै मोरङको विराटनगर जान स्थानीयलाई निकै ठूलो सकस परिरहेको छ । महेन्द्र राजमार्गभन्दा आधा कम दूरीमा दक्षिणी झापाका बासिन्दाले मोरङको यात्रा गर्न पाउने हुलाकी सडक सहज रूपमा सञ्चालन नहुँदै भत्कन थालेपछि भने पुल बन्दा सडक भत्केर खण्डहर हुने चिन्ता स्थानीयमा देखिएको छ । सडक बन्दा पुल छैन, पुल हुँदा सडक नहुने हो कि भन्ने आशंका देखिन थालेका खाल्डाले संकेत गर्दा हुलाकी सडक सपनाको सुख बन्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्