लक्ष्मी उप्रेती
मेचीनगर । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउनका लागि झापा जिल्लाका ६ स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।

मंगलबारबाट बसपार्क, मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । समस्यामा परेका यात्रु, चालक तथा सहचालकलाई प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्ष ‐हेल्प डेक्स) हो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसायीसम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सुरक्षित सडकको प्रत्याभूति दिलाउनका लागि विभिन्न संघ संस्थाहरुको सहकार्यमा सञ्चालनमा ल्याइएका यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उद्घाटन गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार मेचीनगर—६ स्थित काँकरभिट्टा बस टर्मिनल, अर्जुनधारा नगरपालिका—११ स्थित टेकबहादुर गिरी बसपार्क, बिर्तामोड नगरपालिका—१ स्थित पश्चिम बस स्टेण्ड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा मातहतका ट्राफिक प्रहरी कार्यालय दमक, चन्द्रगढी, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा बुधबारेलगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । काँकरभिट्टा बस टर्मिनलबाट विभिन्न स्थानका लागि लामो तथा छोटो दूरीका सवारीसाधन छुटने गर्छन् ।

यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध गरेको छ । यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउने विश्वास व्यक्त गर्दै हरेक स्थानको भाडादर र समयतालिका यात्रु सहायता कक्ष ‐हेल्प डेक्स) मा सवैले देख्ने गरी अनिवार्य राख्न निर्देशन दिए ।ट्राफिक र प्रहरीले मात्र सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी, चालक र यातायात कम्पनीले पनि पर्वका बेला सहजीकरण गर्नुपर्ने भन्दैं प्रजिअ बास्तोलाले पर्वका बखत हुन सक्ने दुर्घटनाका बारेमा सचेत भएर सवैले ट्राफिक नियमको पालना गरेमामात्रै सहज तरिकाले पर्व मनाउन सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गदैं जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दसैँ–तिहार र छठ विशेष सुरक्षा योजना सुरु गरेको बताए । दसैँ–तिहारमा यात्रु सहायता कक्षलगायत सञ्चालनसँगै विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए । चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्ती बढाइएको बताइएको छ । मेचीनगर नगरपालिका वडा नम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रालिका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार बस्नेत, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेललगायतले बोलेको कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले गरेका थिए ।

सोही अवसरमा कुशल सवारी चालक युरो यातायात डिलक्सका चालक मेचीनगर —६ का गोपाल पौडेल र नागरिक यातायातका चालक मेचीनगर —१० का विष्णु सार्कीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्