झापा,असोज १५ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् ।
यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए ।
राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ ।
त्यसैले अब यात्रुहरुले यो दसैँमा घर पुग्न ठूलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताए । नेपाल प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ ।
सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको संख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ
काठमाडौँ–नारायणगढ सडकका दर्जनौँ ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउछन् ।
समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ ।
पानी पर्दै नपरेको खण्डमा दसैँ आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पु¥याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउछन् । उनले भने, “प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ ।”
प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उनले बताए । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए ।