झापा, असोज १६ । नेपाली हिन्दु धर्मावलम्बीको ठूलो चाड दसैँ नजिकिएको छ । दसैँ नजिकिएसँगै पहाडका ग्रामीण क्षेत्रका गाउँबस्तीहरुमा घर सिँगार्ने काम सुरु भएको छ ।
केहीवर्ष अघिसम्म पहाडका गाउँबस्तीहरुका घरमा कमेरो (सेतोमाटो) र रातोमाटोले लिप्ने र पोत्ने प्रचलन रहेको थियो । तर अहिले भने कमेरो र रातोमाटोले घर लिप्ने पोत्ने चलन भने हराउँदै गएको छ ।
पहाड तिरका परम्परागत शैलीमा ढुङ्गा र माटोबाट बनेका घरहरुमा कमेरो र रातोमाटोको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समयमा आधुनिकतासँगै घर बनाउँदा सिमेन्टको प्रयोग हुन थालेपछि र परम्परागत शैलीमा बनेका घरहरुमा पनि सिमेन्टले प्लस्टर गर्न थालिएपछि कमेरो र रातोमाटोको सट्टामा बजारिया आयातित रङ (कलर)को प्रयोग हुन थालेको हो ।
गाउँमा पहिले पहिले दसैँका बेलामा लाहुरेहरु फर्किने, सहरबजार पढ्न गएका विद्यार्थीहरु र रोजगारीमा गएका व्यक्तिहरु फर्किने, चर्खे पिङ र लिङ्गे पिङ हाल्ने रमाइलो गर्ने प्रचलन रहेको थियो । साथै दसैँका लागि आवश्यक पर्ने चिउरा चामललगायतका खाद्यान्न ढिकी र जाँतोमा कुट्ने पिस्ने गरिन्थ्यो । तर पछिल्लो समयमा विकसित हुँदै गएको बजारीकरण र आधुनिकतासँगै विस्तारै यो चलन पनि हराउँदै गएको छ ।
परम्परागत चालचलन तथा मौलिकतालाई छाड्दै विस्तारै आधुनिकतालाई पछ्याउँदै जाँदा र रैथाने साधन, स्रोत तथा सीपको विस्तारै प्रयोग हुन छोडेपछि परम्परागत रितिरिवाज, संस्कार र संस्कृति समाजबाटै लोप हुने हु्न् कि भन्ने देखिन्छ । अहिले पहाडका गाउँघरमा कमेरो र रातोमाटोले लिपपोत गरेका घरहरु बिरलै देख्न पाइन्छ ।