झापा, असोज १६ । इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा आपूर्ति हुँदै आएको खानेपानीको मुहानको पाइप पहिरोले बगाउँदा ४५ लाख बढीको क्षति भएको छ । केही दिन अघिको बाढी पहिरोले पानीको मुहानको पाँच सय मिटर मुख्य पाइपलाइन र सडक बगाउँदा ४५ लाख बढीको क्षति भएको हो ।

सूर्योदय नगरपालिका १ को इन्द्रेणी दोभानमा रहेको श्रीखोलाको पाँच सय मिटर बढी मुख्य पाइपलाइन बगाएपछि नगर क्षेत्रको फिक्कल बजारमा पानीको आपूर्ति हुन सकेको छैन । मुख्य पाइप र सडक समेत पहिरोले बगाउँदा ४५ लाख बढीको क्षति भएको फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गा कुमार बरालले जानकारी दिए । उनका अनुसार पानीको मुहानसम्म पुग्ने सडक समेत पहिरोले बगाएकाले ठुलो रकम सडक मर्मतमा खर्च हुने भएको छ ।

पहिरोले ३० वटा पाइप बगाएपछि उक्त पाइपको ठाउँमा नयाँ पाइप बिच्छयाउन रुट परिवर्तन गर्नु पर्ने भएपछि फिक्कल क्षेत्रमा पानीको आपूर्ति गर्नका लागि अझै ३÷४ दिन लाग्ने अध्यक्ष बरालले जानकारी दिए । समितिले पाइप बगाएको क्षेत्रमा नयाँ पाइप लगाउनका लागि मङ्गलबारनै १५ लाख रुपियाँको पाइप खरिद गरी मुहान सम्म पु¥याएको छ ।

नयाँ पाइप खरिद, जडान र सडक मर्मत गर्दा उक्त रकम बढी खर्च लाग्ने समितिले जनाएको छ । अध्यक्ष बरालले भने, ‘प्राकृतिक विपत्तिले गर्दा पानीको अभाव भएको हो, मर्मतमा रात दिन कामदार खटाएका छौँ ।’
श्रीखोलाको पानीले नगरको फिक्कल बजार सहितका क्षेत्रका एक हजार ६०० सय परिवारले पानी उपभोग गर्दै आएकोमा हाल एक हजार घरमा पानीको अभाव भएको अध्यक्ष बरालले जानकारी दिए । उक्त मुहानबाट बजार क्षेत्रमा पाँच लाख लिटर पानी दैनिक रूपमा खपत हुँदै आएको थियो । पहिरोका कारण बारम्बार मुहान क्षेत्रमा क्षति गर्ने गरेको छ । समितिले एक करोड लिटर रिजर्भ रहने गरी ट्याङ्की निर्माण गर्ने योजना बनाए पछि टुङ्गोमा पुग्न नसकेको अध्यक्ष बरालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्