झापा, असोज १७ । इलामको माई नदीमा आएको बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः ठड्याउन कम्तीमा छ महिना लाग्ने भएको छ । बाढीले क्षति पु¥याएको चारवटा टावर पुनः निर्माण गरी बिजुली आपूर्ति गर्न धेरै समय लाग्ने भएपछि विकल्पको विषयमा छलफल भइरहेको नेपाल विद्युत प्राधिकरण दुहवी ग्रीड महाशाखा प्रमुख रोशन खड्काले बताए ।
‘बाढीले क्षतिग्रस्त चारवटा टावर पुनः निर्माण गरी विद्युत आपूर्ति गर्न कम्तीमा छ महिना लाग्ने रहेछ, त्यसैले टावरको सट्टा अन्य विकल्प अपनाउन सकिन्छ कि भनेर छलफल भइरहेको छ,’ महाशाखा प्रमुख खड्काले भने, ‘जतिसक्दो चाँडो पुनः निर्माणका लागि पहल भइरहेको छ ।’ उनले क्षतिको विवरण अहिल्यै यकिन गर्न नसकिएको बताए ।
बाढी आउनुअघि काबेली करिडोर अन्तर्गतको प्रसारण लाइनबाट प्रवाह भइरहेको १८० मेगावाट बिजुली बन्द भएको महाशाखा प्रमुख खड्काले बताए ।
गत बिहीबारदेखि परेको अबिरल वर्षाका कारण माई नदीमा आएको बाढीले काबेली करिडोर प्रसारण अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बरको टावलाई क्षति पु¥याएको थियो । बाढीले ५०, ५१ र ५२ नम्बर टावरलाई पूर्ण र ५३ नम्बर टावरलाई आंशिक क्षति गरेको महाशाखा प्रमुख खड्काले बताए । बाढीले नदीमा रहेको ५१ नम्बरको टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर अन्य टावरलाई समेत क्षति गरेको महाशाखा प्रमुख खड्काले बताए ।
यसैबीच, बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः निर्माण गर्न समय लाग्ने भएपछि वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति सुचारु गरिएको छ । १३२ केभी प्रसारण लाइनको विकल्पमा ३३ केभी प्रसारण लाइनमार्फत अस्थायी रुपमा विद्युत आपूर्ति गरिएको नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख बिजुलीप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्