झापा, असोज १७ । पूर्वकै चर्चित धार्मिक एवं ऐतिहासिक स्थल झापा गरामनीको दुर्गा शक्तिपीठमा बडादशैंको अवसर पारेर यस वर्ष पनि महापुराण शुरु भएको छ ।

आज घटस्थापनादेखि पाँच दिनसम्म ब्रम्हाण्ड महापुराण आयोजना गरिएको हो । जसको एक कार्यक्रमका बीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरे । उनले पूर्वको शक्तिपीठहरुमा गरामनीको दुर्गा शक्तिपीठ महत्वपूणर् रहेको बताउँदै यहाँका आदिवासीहरुले गरामनीको देवीलाई पूजा गरेर मात्र शुभकार्य थाल्ने परम्परा मान्दै आएको सुनाए । उनले कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष मनाउने योजना रहेकोमा झापाको गरामनी शक्तिपीठ र सताक्षीधामलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा प्रदेश सरकारको सूचीमा समावेश गराउन सुझाव दिएको जानकारी दिए ।

दुर्गा शक्तिपीठमा ११ औं महापुराण आयोजना गरिएको हो । हरेक वर्ष बडादशैंका बेला त्यहाँ महापुराण आयोजना गर्ने गरिएको छ । दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिद्वारा आयोजित महापुराणको प्रमुख वाचकमा पण्डित ऋषि नेपाल र उपवाचकमा नारायण अधिकारी रहेका छन् । दुर्गा शक्तिपीठका लागि अक्षय कोष स्थापना गर्नका लागि पुराण आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’ले बताए । उनले मन्दिरको लागि १ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए । पुराण उद्घाटनकै दिन सुरेश उप्रेती निलमले १ लाख १ हजार १११ र हरि दाहालले ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

मन्दिर संरक्षण समितिका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभामुख विष्ट , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ,पुराण वाचक पण्डित ऋषि नेपाल , सिम्रिक कचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई , पूर्व कर्नेल डीबी थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्दिर संरक्षण समितिका उपाध्यक्ष सुरेश उप्रेती निलमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव नवीन भट्टराई र सहसचिव रोहित ओलीले गरेका थिए ।

सोही अवसरमा मन्दिरको संरक्षण र चौतर्फी विकासमा सहयोग गरेको भन्दै बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीलाई सम्मान गरिएको थियो । गरामनीको दुर्गा शक्तिपीठमा बडादशैको अष्टमीको दिन भव्य पूजा आयोजना हुने गरेको छ भने एकादशीका दिन मेला लाग्ने गरेको छ । धार्मिक मान्यता रहेको त्यस शक्तिपीठमा पूजा आराधना गर्न झापा, मोरङ,इलामलगायतका जिल्लासंगै भारतबाट समेत भक्तालुहरु आउने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्