झापा, असोज १८ । हिजो साँझ विराटनगरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

साँझ ६.४५ बजे बिराटनगर–१८ आइसीपी चोकमा बिराटनगरबाट आइसीपी चोकतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री लवाघाट बस्ने बर्ष ६० का श्याम साहलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका साहलाई उपचारको लागि बिराट नर्सिङ होम लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । ट्रक, ट्रक चालक र साइकल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ ।

यसैबीच विराट नर्सिङ होमका एकजना सुरक्षा गार्डले मृतकका आफन्तहरूसँग दुर्व्यवहार गरेपछि विवाद भएको छ । नर्सिङ होमका सुरक्षा गार्डको दुर्व्यवहारको बारेमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

बिरामी तथा आफन्तहरूप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने माग गरेर विराट नर्सिङ होमको गेट अगाडि पीडित पक्षले राति ९ बजेदेखि होहल्ला गरेका थिए । त्यही बीचमा एकजना अपरिचित व्यक्ति आई पीडित पक्षलाई हेल्मेटले टाउकोमा हानेका थिए । नाम खुल्न नसकेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालयमा लगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्