बिर्तामोड ,असोज १८ ।सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बिर्तामोड शाखा स्थानान्तरण भएको छ ।

बिर्तामोड शाखा साविकको स्थानबाट मुक्ति चोकदेखि करिब २८० मिटर उत्तर शनिश्चरे रोड ट्याक्सी स्टेण्डमा स्थानान्तरण भएको हो । सो स्थानान्तरित शाखा कार्यालयको आज विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा बैंकका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यस बैंकको कर्पोरेट कार्यालय विराटनगरमा रहेको छ भने बैंकले कोशी प्रदेशमा ३५ वटा शाखा कार्यालयहरुमार्फत आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकको हाल कुल निक्षेप रु. ७ अर्व १० करोड र कर्जा रु. ५ अर्व २० करोड तथा ग्राहक संख्या १ लाख ५० हजार रहेको छ ।

उ्दघाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले न्यूनतम प्रिमियममा कर्जा प्रवाह गर्ने गरेको र यसबाट ग्राहकलाई कर्जाको लागतमा दिर्घकालसम्म लाभ पुग्ने बताए । सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत गिरीले बैंकले व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्वको काममा समेत लागेमा समुदायको साथ पाउने धारणा राखे ।

त्यस्तै बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाले हालको बजारको आर्थिक अवसथा केही असहज रहेको हुँदा यस्तो बेलामा बैंकले न्यून व्याजदरमा कर्जा प्रवाह गरी व्यवसायीलाई केही राहत दिन आग्रह गरे । बैंक वित्तीय संस्थाहरुको हरेक आवश्यकतामा साथ सहयोगका लागि स्थानीय सरकार सदैव संगै रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्