बिर्तामोड,असोज १८ । झापा बाह्रदशी–५ का राजेश ठाकुरको हत्यापछि उनको शव पुरेको घटनाका बारेमा प्रहरीले गहिरो अनुसन्धान थालेको बताएपनि प्रमाण फेला पार्न सकिरहेको छैन ।

आरोपितहरुको घर आँगनदेखि खोलाको बगरसम्म उत्खनन् गर्दासमेत हत्या भएको भनिएका बाह्रदशी– ५ फूलवारीका अन्दाजी २१ वर्षका ठाकुरको शव फेला पार्न नसकेको हो । प्रहरीले बिहीवार दिउँसोदेखि आरोपित राजवंशीको घर र आँगन उत्खनन् गरेको थियो । बिहीवार राति १० बजेसम्म उत्खनन् गर्दा केही सामान फेला परेपनि शव फेला पार्न सकेन । शुक्रवार बिहानदेखि पुनः राजवंशीको घर आँगन खनिएको थियो । त्यहाँ नभेटेपछि दिउँसो बिरिङ खोलाको बगर पनि खनिएको थियो । तर,त्यहाँ पनि शव नभेटिएको प्रहरीले जनाएको छ । राजवंशीको घर आँगनमा ठाकुरको शव नभेटिएपछि एकजना व्यक्तिले बिरिङ खोलाको बगरमा गाडेको हुनसक्ने बताएपछि प्रहरी टोली बगरतिर मोडिएको थियो ।

ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । चार महिना अघिदेखि बेपत्ता भएका ठाकुरलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले बिहीवारदेखि उत्खनन् शुरु गरेको थियो । छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले बिहीवार दिउँसोदेखि उत्खनन् गरेको हो । तर, रातिसम्म ठाकुरको शव फेला परेन । आफ्नी आमा मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका छोरा नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको हो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेको बताइएको छ ।

घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । काकी मुना र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । उत्खनन्का क्रममा मृतक राजेशले लगाएको लुगा , नुनको प्लास्टिकको खोलहरु र एउटा दाउ भेटिएको बताइएको छ ।

प्रहरीले राजवंशीको घर आँगन सिल गरेको छ । जथाभावी उत्खनन् गर्नुभन्दा अनुसन्धान गरेर उत्खनन् गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।‘घटना के हो भनेर क्लियर भइसकेको छैन ’ उनले भने,‘ घटनाको कडी पत्ता लगाउने प्रयास गरिरहेका छौ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्