झापा , असोज १९ । लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील इन्द्रप्रसाद ओलीको लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी पुस्तक दिव्य दृष्टिको आज लोकार्पण भएको छ ।
सो पुस्तकको आज बिर्तामोडमा एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । पुस्तक २२६ पृष्ठको रहेको छ । प्रकाशित पुस्तकको बारेमा डा. पुण्यप्रसाद सिग्देलले समीक्षा गरेका थिए ।
कार्यक्रमलाई उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले अनवरत रुपमा लागिपरेर समाजका बिकृति, बिसंगति र लागूऔषध नियन्त्रणको मार्गदर्शनको रुपमा निकै उपयोगी पुस्तक प्रकाशन गरिएको बताए । उनले दिब्य दृष्टि पुस्तक सरकारलाई कानुन कार्यान्वयनका लागि दवाव दिने पुस्तक निर्माण भएको बताए । कानुन मात्र बनाएर , पक्राउ गरेर मात्र लागूऔषध नियन्त्रण गर्न नसकिने भन्दै उनले सचेतनात्मक शिक्षाले मात्र न्यूनीकरण गर्न सकिने धारणा राखे । लागूऔषधको लत लागेकालाई र कारबाहीमा परेकालाई छुट्टै एउटा सुधार गृह बनाएर सचेतनात्मक शिक्षा दिन सरकारले पहल गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोला , उपप्रमुख संग्रौला , पुस्तकका लेखक ओलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकार नकुलकाजी पाण्डे , लाइफलाइन उपचार तथा पुनस्र्थापना केन्द्रका अध्यक्ष अर्जुनकुमार भट्टराई , ह्याप्पी नेपाल दमक , ओली एसोसिएट्स र चेतना नेपालकी सदस्य कमला भट्टराईलाई सम्मान गरिएको थियो । चेतना नेपालकी उपाध्यक्ष उषा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसी , इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी प्रकाश विष्ट,स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरु, उद्योगी, ब्यापारीलगायतको उपस्थिति रहेको थियो । चेतना नेपालकी सदस्य कल्पना भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी केशव भट्टराईले गरेका थिए ।
चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मंचका अध्यक्षलगायत एक दर्जन बढी संघ संस्थामा आवद्ध भद्रपुर– ७ निवासी ओलीको यो पाँचौ कृति हो ।
यसअघि उनले लागूऔषधसम्बन्धी नै विभिन्न पुस्तकहरु प्रकाशित गरेका थिए । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि उनी क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास लिएका थिए ।
इन्द्रप्रसाद ओली सर सँगको छोटो भेटमा नै म निकै प्रभावित भएँ ।लागुपदार्थ दुर्व्यशन नियन्त्रण म्बन्धी प्रकाशित यो पुस्तकले उहाँको गरिमालाई अझ उच्च बनाओस हार्दिक शुभकामना छ ।
बासुदेव अधिकारी
काठमाडौ