झापा, असोज २० ।पञ्चमुखी शिव पाञ्चायन मन्दिर अर्जुनधारा– ५ नमुना टोलको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ।
मन्दिर परिसरमा सम्पन्न सो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। नमुना कीर्तन मण्डलीकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षतामा पुनः ११ सदस्यीय मन्दिर सञ्चालन समिति गठन भएको हो। निवर्तमान सचिव चुडामणि घिमिरेले दिएको जानकारी अनुसार सो समितिको उपाध्यक्षमा कमल चम्लागाई, सचिव मुक्तिनाथ गजुरेल, सहसचिव हेमन्त रिजाल र कोषाध्यक्षमा नेत्रकला खतिवडा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा चेतन लम्साल, विनोद दाहाल, लीला खतिवडा ,प्रमिला दाहाल पनि सर्वसम्मत चयन भएका छन् ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गीताराज खड्का (हरि)को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्दिर निर्माणमा सहयोग पुर्याउने ९३ जना दातालाई सम्मान गरिएको थियो। मन्दिर निर्माणका लागि २९ लाख ५ हजार ५८६ रुपैयाँको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको निवर्तमान सचिव घिमिरेले बताए ।
२०७४ सालमा स्थापना भएको पञ्चमुखी शिव पाञ्चायन मन्दिर सो क्षेत्रको नामुद धार्मिक संस्था हो। यो संस्थामा २०० सर्वसाधारण आबद्ध छन् ।कार्यक्रममा शिक्षासेवी सुमन शर्मा जमरकट्टेल, अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीलगायतको सहभागिता थियो ।