झापा ,असोज २० । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति ‘नाति पुस्ताको खेल’को शनिवार दमकमा लोकार्पण भएको छ ।

कवि तथा स्थापित गजलकार केशव आचार्यले सो कृतिको विमोचन गरेका हुन् । पद्मजी पुरस्कार विजेता बरालको कृति ‘नाति पुस्ताको खेल’मा शक्तिशाली लेखन बिम्ब र पाठकको मन खिच्ने ओझ भएको विश्वास लोकार्पण कार्यक्रमका वक्ताको छ । बराल आख्यानपछि पुनः निबन्ध लेखनमा फर्किएका हुन् । निबन्धमा खेल्ने ठाउँ अधिक हुने भएकाले आफू फेरि त्यता मोडिएको उनले बताए। उनको लेखनीमा फिक्सन छ । ‘नाति पुस्ताको खेल’मा पनि लेखकले लीलालेखन प्रविधिको भरपूर प्रयोग गरेका छन् । लोकार्पणपछि कृतिमाथिको प्यानल डिस्कसन(सामूहिक छलफल) गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, प्राज्ञद्वय मुनाराज शेर्मा र सुमित्रा वाङ्देल, डा. बालचन्द्र सुब्बा , प्रकाश बुढाथोकी, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देनले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाश थाम्सुहाङले सहजीकरण गरेको प्यानल डिस्कसनमा २८ सालका लेखक कुमार भट्टराई र मिश्र वैजयन्तीले कृतिको उत्खनन् गरेका थिए । पात्र परिवर्तन हुँदैमा चरित्र परिवर्तन नहुने धारणा राखेका लेखक भट्टराईले भने,“नाति पुस्ताको खेल विगत, वर्तमान र आगतको चित्र छर्लङ्ग पार्ने दर्बिलो कृति हो ।“

यसअघि बरालका तीन पिँढी एउटा सिँढी, लीलावार्ता र शरणार्थी, कथा च्यातिएका, अवतरण, अरामायण, समय हराएको बेला कृति प्रकाशित छन् ।

बरालको समय हराएको बेला पद्मश्री पुरस्कार पाएको कृति हो । अरामायण साहित्यकार बरालको बेनामे कृति हो । अरामायणको समीक्षा डा. शंकर उप्रेतीले गरेपछि मात्रै बरालको कृति भएको त्यसबेला खुलेको थियो ।
श्रष्टा प्रकाशनले बजारमा ल्याएको ‘नाति पुस्ताको खेल’मा तीन खण्ड छ । २५ वटा निबन्ध रहेको कृति दुई सय पृष्ठको छ । प्रकाशकका तर्फबाट अध्यक्ष सुन्दर कुरुप , यम थुलुङ र राजकुमारले बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्