झापा, असोज २० । बाढीपहिरोका कारण सडकमार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडानअवतरण भएका छन् । उक्त उडानमार्फत ८९ हजार ६२ जनाले दोहोरो हवाई सेवा लिएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने, “दसैँको यात्रा सुरु हुनुअघि नै गत हप्ताको बाढी पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको संख्या अधिक रूपमा बढेको छ । अहिले काठमाडौँबाट जहाजहरू भरिभराउ भएर बाहिरिरहेका छन् । हवाईमार्गबाट यात्रा गर्ने यात्रुको विमानस्थलमा चाप बढेपछि रात्रिकालीन उडान हुने विमानस्थलको सञ्चालन समय बढाएर सेवा दिइरहेका छौँ ।” अहिले काठमाडौँ भित्रिनेभन्दा दसैँ मान्न गाउँ फर्किने यात्रुको काठमाडौँ विमानस्थलको आन्तरिक टर्मिनलमा थेगिनसक्नुको भिड हुने गरेको उनले बताए । प्रवक्ता शेर्पाका अनुसार आन्तरिकतर्फको उडान चाप बढेसँगै गत सोमबार ४५०, मङ्गलबार ४३४, बुधबार ३७५, बिहीबार ३२७ र शुक्रबार ३०९ उडानअवतरण भएका छन् ।

आन्तरिकतर्फको उडान चाप बढेपछि त्यसको असरले अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’ मा बस्नुपर्ने बाध्यता रहेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको संख्या थेग्नै नसक्ने गरी बढेपछि रात्रिकालीन उडान हुँदै आएका देशभरका नौ वटा विमानस्थलमा दसैँको पूर्णिमासम्म उडान सञ्चालन समय बढाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्