झापा,असोज २४ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय संगम र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो।

फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैंतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको संख्या बढेको छ। ‘तमोर करिडोर सडक आलोङचुङ्गोला हँुदै टिप्ताला नाका जोडिएको छ। अब भने सहज रुपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ,’ उनले भने।

सिङ्जेमा ताल फक्ताङ्लुङ वडा नम्बर ७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ। यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन। प्राकृतिक रुपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्त्वको रूपमा पनि लिने गरेका छन्। तालमा भाकलगरी पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ। सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्