झापा, असोज २४ । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ ।

रु ३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाइ सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्