विनोद सापकोटा
झापा ।बाढीबाट विस्थापित बनेका परिवार खाद्यान्न नभएर समस्यामा रहेका बेला नेकपा माओवादी केन्द्रले शिवसताक्षीका विस्थापित परिवारलाई दशैंका मुखमा राहत सामग्री प्रदान गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित कन्काई नदीको कटानबाट विस्थापित बनेका २४ घरपरिवारलाई नेकपा माओवादी केन्द्रले खाद्यान्न सामग्री प्रदान गरेको हो । शिवसताक्षी नगर कमिटीले दशैंका मुखैमा खाद्यान्न सामग्री प्रदान गरेको पार्टीका नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए । राहत सामग्री पाएपछि विस्थापित परिवार खुसीले गद्गद् भएका छन् ।
दुई साता अघिदेखि परेको अविरल वर्षाका कारण कन्काई नदीमा आएको बाढीले २४ घरपरिवार पूर्णरूपमा विस्थापित बनेका थिए । विस्थापित परिवारलाई स्थानीय शिवालय मन्दिर, कन्काई मुक्तिघाटको भवनलगायतका स्थानमा राखिएको छ । उनीहरुको घर रहेको ठाउँमा यतिबेला कनकाई नदीको भंगालो छ ।
पार्टीको १० नम्बर वडा कमिटीले पार्टी सदस्यको आन्तरिक स्रोतबाट विस्थापित परिवारलाई एक–एक बोरा चामल, सोयाविन, नुन, तेल र दाल प्रदान गरेको थियो । विस्थापित परिवारले तीनै तहका सरकारले बेवास्ता गरिरहेका बेला माओवादी केन्द्रले दिएको खाद्यान्न सामग्रीले दशैंमा राहत मिलेको बताए । उनीहरुले माओवादीले दिएको चामललगायतका सामग्रीलाई मिठो मसिनो परिकार पकाएर खाने बताए ।
‘दशैमा टिका जमरा थाप्न पाहुना आउनुहुन्छ । दहीमा मुछ्ने अक्षता पनि पानीले भिजाइदिएको छ । त्यही अन्न सुकाएर यतिबेला विहान बेलुकाको छाक टर्छ,’ बाढीबाट विस्थापित इन्दिरा दाहालले भनिन् ‘माओवादीले दिएको खाद्यान्नले दशैका केही दिन र निधारमा लगाउने टिकाका लागि सुकिला अक्षता पाउँदा पनि खुसी लागेको छ ।’
ती विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिका वडा नम्बर १० ले स्थानीय सामाजिक संघ संस्थाका भवनमा तत्कालका लागि आश्रय दिएको छ । वडा अध्यक्ष हर्क सिगुका अनुसार विस्थापित परिवारलाई वडा र नगरपालिकाले भने खाद्यान्नलगायतका राहत सामग्री प्रदान नगरेको बताए ।
‘धेरै सामाजिक संघ संस्थाहरूले राहत सामग्रीहरू दिइरहेका छन् । स्थानीय सरकारले पनि विस्थापित परिवारहरूको अवस्था नजिकबाट नियालिरहेकाले आवश्यकता अनुसार पछि राहत प्रदान गरिने छ,’ वडा अध्यक्ष सिगुले भने ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी मगरले विस्थापित परिवारहरूलाई चाडपर्वको मुखमा खाद्यान्न संकट नहोस् भनेर राहत सामग्री प्रदान गरेको बताए । उनले भने ‘पार्टी तपाईँहरूको साथमा छ । जतिबेला आवश्यक पर्छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्तामार्फत सहयोगको याचना गर्नुहोस् । पार्टी तपाईँहरूलाई जस्तोसुकै अवस्थाको सहयोग गर्न तयार छ ।’
कार्यक्रममा पार्टीका प्रदेशस्तरीय नेता गगन पुरी, शिवसताक्षी नगरका पार्टी अध्यक्ष महेन्द्र भट्टराईलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम पार्टीका १० नम्बर वडा अध्यक्ष नन्दलाल रायको अध्यक्षता र पुष्प पौडेलको सहजीकरणमा भएको थियो ।