बिर्तामोड, असोज २५ । उप्रेती समाज सेवा समिति झापाले गत वर्षझै यस वर्ष पनि विद्यार्थी तथा समाजका ज्येष्ठ सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
समाजले हरेक वर्ष महाअष्टमीका दिन रघुनाथ स्मृति उप्रेती भवन बिर्तामोड– ४ मा विजयादशमी, शुभ दीपावली, छठ, नेपाल संवत्लगायत विभिन्न चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा ज्येष्ठ सदस्यहरू बाह्रदशी – ७ का हिमादेवी उप्रेती, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद उप्रेतीलाई सम्मान गरिएको छ ।
यसैगरी २०८० सालको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ कन्काई मावि कन्काई– ३ बाट सर्वाेत्कृष्ट अंक ल्याउने छात्रतर्फ आयुष उप्रेती, छात्रातर्फ प्रजिता उप्रेती र युनिषा उप्रेतीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थागततर्फ छात्रतर्फ टावर टेम्पल विद्यालयका आर्यन उप्रेतीलाई सम्मानपत्र र नगद पाँच हजार रूपैयाँ प्रदान गरियो । उनीहरूलाई स्वर्गीय शिवलाल – छलमाया स्मृति कोषबाट छात्रवृति रकमसहित सम्मानपत्र प्रदान गरिएको हो ।
ज्येष्ठ सदस्य तथा विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेती , वर्तमान अध्यक्ष डिल्ली उप्रेती, अक्षयकोष दाता परिवारका सदस्यहरूले दोसल्ला, अविर, टीका पहिर्याएर नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेती, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, जग्गादाता मोहन उप्रेती, जग्गादाता परिवारका तर्फबाट रञ्जन उप्रेती, भीष्म उप्रेती, क्षेत्र नम्वर ५ का अध्यक्ष गंगाप्रसाद उप्रेतीलगायतले बोलेका थिए । समितिका अध्यक्ष डिल्ली उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रमोहन उप्रेती र स्वागत जिल्ला उपाध्यक्ष अम्बिका उप्रेतीले गरेका थिए ।