द्रोण अधिकारी,
भद्रपुर । सडक नयाँ र स्तरीय भएपनि भद्रपुर—मेचीनगर जोड्ने जीर्ण हडिया पुलले यात्रा जोखिम बनाइरहेको छ ।

भद्रपुर रिङरोड तथा मेचीनगर लिंकरोडको रूपमा रहेको भद्रपुर– ९ र मेचीनगर– १५ जोड्ने हडिया पुलको मर्मतमा बेवास्ता गरिँदा भत्किएको जीर्ण पुलमा यात्रुहरु यात्रा गर्न बाध्य छन् । ।
भद्रपुर– ९ घोडामाराबाट मेचीनगर– १५ ज्यामिरगढी चिया बगानमा जोडिने यो पुल दुई वर्षयता भत्कन थालेपनि मर्मतका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन् ।
पुलको पूर्व तथा पश्चिमको लिंकरोड जोड्ने पिलरनजिक प्वाल परेको छ । यात्रुलाई सचेत बनाउन रूखका हाँगा गाडेर भत्किएको संकेत दिइएको छ ।
दिउँसो यात्रा गर्दा भत्किएको ठाउँ देखिएपनि रात्रिकालीन यात्रु दुर्घटनामा पर्न सक्ने स्थानीय रामवीर राजवंशी बताउँछन् ।उनका अनुसार पुलको अवस्थाबारे भद्रपुर र मेचीनगर नगरपालिकालाई स्थानीयले अघिल्लै वर्ष जानकारी गराएका थिए । उत्तरपूर्वी क्षेत्रका बासिन्दालाई सदरमुकाम जानका लागि छोटो छरितो मार्गको रूपमा रहेको भद्रपुर—मेचीनगर लिंकरोड अति व्यस्त रहने गरेको छ ।