झापा, असोज २७ ।झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान ६.३० बजेतिर मेचीनगर– ७ इटाभट्टास्थित एनएमसी डेरी अगाडि होटल मेची क्राउनबाट काँकरभिट्टतर्फ जाँदै गरेको मेची क्राउनमा काम गर्ने मेचीनगर– ६ का २० वर्षीय अभिशेक लिम्बुले चलाएको प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक मेचीनगर – ७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल यात्री राजवंशी, मोटरसाइकल चालक लिम्बू ,मोटरसाइकलमा पछाडी सवार मेचीनगर– ६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठसमेत तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा साइकल यात्री राजवंशीको बिहान ७ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक र पछाडि सवार दुबै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुबै जनाको टाउको,शरीरको बिभिन्न भागमा चोट लागेको र अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल अस्थाई प्रहरी पोष्ट इटाभट्टाको नियन्त्रणमा रहेको छ ।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।