झापा, असोज २९। गएराति झापाको शिवसताक्षी नगरपालिका–९ स्थित नहर चौकमा मोटरसाइकल र स्कुटी एकापसमा ठोक्किदा चारजना घाइते भएका छन् ।

राति अन्दाजी १०.४५बजे दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र१–०१–०१७प४६८७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१५प५०७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ७ बस्ने ३१वर्षीय देवलाल राजवंशी, मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १७ वर्षीया ममता राजवंशी , स्कुटी चालक शिवसताक्षी ११ बस्ने ३०वर्षीय सबिन पौडेल र स्कुटी पछाडि सवार सोही ठाउँ बस्ने २५वर्षीय प्रबिन बस्नेत घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

त्यस्तै हिजो बिहान १०ः४० बजे गौरादह नगरपालिका वडा नम्बर ३ धोवनियास्थित गौरादह– गौरिगंज भित्री पक्की सडकखण्डमा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको मे.११प४५९१नम्बरको स्कुटीर बिपरित दिशाबाट जाँदै गरेको मे १ह४०८८नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटी चालक गौरादह १बस्ने ३२वर्षीया सुशिला शेर्मा ,स्कुटीमा पछाडी सवार उनकै छोरा ९ वर्षीय सौगात लिम्बू ,सोही स्कुटी पछाडी सवार इलाम माङसेबुङ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीया रीतु लिम्बू घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारको लागि मेडिम्याक्स अस्पताल गौरादह पठाइएको छ । अटोचालक कमल गाउँपालिका वडा नम्बर ५बस्ने ४२ वर्षीय मित्रबहादुर राई र अटो, स्कुटी इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको छ ।

हिजो चौबीस घण्टामा झापामा ९ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी २३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्