झापा, असोज २९ । झापाको शिवसताक्षी– ९ दुधेस्थित एक होटलबाट पक्राउ पर्ने जुवाडेहरुमा कांग्रेसका जिल्ला स्तरीय नेता पनि परेका छन् ।

गएराति दुधेस्थित सगरमाथा होटलमा जुवाजन्य तास खेल्दै गरेको अबस्थामा १२ जना जुवाडे पक्राउ परेका थिए । ती पक्राउ पर्ने जुवाडेमा नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारी पनि रहेका छन् । उनले प्रहरीलाई आफ्नो नाम ढाटेर मिलन भण्डारी भनेका रहेछन् । त्यस्तै जनआदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन तिम्सिना , शिवसताक्षी नगरपालिकाका कर्मचारी दिपक तामाङ पनि पक्राउ परेका छन् ।

राति ८.३० बजे शिवसताक्षी– ९ दुधेस्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यसक्रममा १२ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यहरुमा वडा नं ९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू ,सोही वडाका ३७ वर्षीय भिमबहादुर भण्डारी ,४१ वर्षीय दिनेश बाह्रकोटी , वडा नं ११ बस्ने ३२ वर्षीय नरेन्द्र विश्वकर्मा , सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा ,वडा नं ९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती , सोही ठाउँ बस्ने ३९ वर्षीय बिनोद खरेल (घर तथा होटल साहु) , २० वर्षीय सौगात मैनाली र भारत कोलकाता ४१ वर्षीय परितोस पल रहेका छन् ।

घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरुले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्