लक्ष्मी उप्रेती,
चन्द्रगढी । ६९ औँ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय झापामा विभिन्न कार्यक्रम गरी आज मनाइएको छ ।

त्यस अवसरमा वीरगति प्राप्त अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरी वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ । खेलकुदमा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेल ,सामुदायिक सेवा केन्द्र चन्द्रगढीका सचिव खड्गबहादुर बुढाथोकी, साना हात नेपालका अध्यक्ष विक्रम वाग्ले, मानव अधिकारका लागि एकल महिलाकी अध्यक्ष रेखा अधिकारी र इष्ट होराइजन अग्रेजी माविका प्रिन्सिपल सन्दिप राईलाई प्रशंसापत्र प्रदान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले प्रशंसापत्र प्रदान गरेका थिए ।

त्यस्तै यस वर्षको उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक सन्तोष राई र प्रहरी सहायक हवल्दार उत्तम कटवाललाई पुरस्कृत गरियो । त्यस्तै ८५ वर्ष माथिका ज्येष्ठ पूर्व प्रहरी कर्मचारी हिक्मतबहादुर लामालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त कदरपत्र पूर्व प्रहरी सहायक निरीक्षक अमरबहादुर लिम्बूलाई प्रदान गरियो । लिम्बूले प्रहरी चौकी थेचुम्बु ताप्लेजुङको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए ।

कार्यक्रममा ६९ औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमसमेत भएको थियो । रक्तदानमा १५ जनाले रगत दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रजिअ बास्तोला , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व प्रहरी संगठन झापाका मदनगोपाल सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले स्वागत गरेको कार्यक्रममा प्रहरी उपरीक्षक केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्