झापा, असोज ३० । झापामा सञ्चालित आँखा अस्पतालहरुमा भारतीय सर्वसाधारण नागरिकमात्र नभएर विशिष्ट व्यक्तिहरु समेत उपचारका लागि आउने गरेका छन् ।

यसक्रममा आज भारत बोडोल्यान्ड टेरिटोरियल रिजन आसामका कार्यकारी प्रमुख प्रमोद बोडो आँखा जाँच गराउन बिर्तामोडस्थित दृष्टि आँखा अस्पतालमा आएका छन् । उनी सपरिवार आँखा चेकजाँचका लागि आएका हुन् । यसअघि गत भदौ १६ गते मेची आँखा अस्पतालमा भारतीय केन्द्रीय मन्त्रीकी सासूआमाले उपचार गराएकी थिइन् । उपचारका लागि केन्द्रीय संसदीय मामिलामन्त्री किरण रिजिजुकी सासूआमा मेची आँखा अस्पतालमा आएकी थिइन् ।

अध्यक्ष जलकुमार गुरुङका अनुसार रिजिजुकी सासूआमा ६७ वर्षीया जोहरम याजुर आँखाको ढकनीभित्र छिरेको समस्या लिएर अस्पताल आएकी थिइन् । अरुणाचल प्रदेशको पापुमपारे जिल्लाकी स्थायी बासिन्दा याजुरले यसअघि भारतको राजधानी नयाँ दिल्लीमा आँखा देखाएकी थिइन् । दिल्लीमा उपचार सम्भव नभएपछि उनी बिर्तामोड आएकी थिइन् ।

झापामा सञ्चालित सबै आँखा अस्पतालमा स्वदेशीभन्दा विदेशी बिरामीको भीड लाग्ने गरेको छ । झापामा हाल मेची आँखा अस्पताल , दृष्टि आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल, मेची नेत्रालय, काँकडभिट्टा आँखा अस्पताल गरी पाँचवटा आँखा अस्पताल सञ्चालनमा रहेका छन् । यसबाहेक मेची अञ्चल अस्पताल भद्रपुरमा पनि यसको उपचार हुने गरेको छ । तर, यी सबै अस्पतालमा स्वदेशीभन्दा बढी विदेशीको भीड लाग्ने गरेको छ । भारतको आसाम, विहार, नागाल्यान्ड, सिक्किम, दार्जिलिङ, सिलिगुडी र बंगलादेशलगायतका क्षेत्रबाट आँखाका रोगी दैनिक सयौँको संख्यामा यी अस्पताल आउने गरेका छन् ।

भारतको तुलनामा नेपालमा सस्तो, राम्रो र भरपर्दो उपचार हुने भएकाले विदेशीको चाप बढेको संचालकहरु बताउँछन् । विश्वका विकासोन्मुख मुलुकमध्ये नेपालमा आँखाको उपचार एक नम्बरमा पर्ने हुँदा भारतका आँखाका बिरामी नेपाल आउने गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्