झापा, कात्तिक १ । सिन्धुपाल्चोकबाट भेट्न आएका फेसबुके साथी प्रधानाध्यापक अच्युतम कोइरालाको मृत्यु भएपछि तेह्रथुम फेदाप– ३ जलजले बस्ने ५१ वर्षीया भिमादेवी रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हिरासतमा राखिएको हो । सिन्धुपाल्चोक इन्द्रावती ५ बाँडेगाउँस्थित नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय कोइराला आफ्नो फेसबुके साथी भिमादेवीसंग भेट्न तेह्रथुम आएका थिए ।

भिमादेवीसंग उनको १० महिनादेखि सामाजिक सञ्जालमा चिनजान भएको थियो । भिमादेवीलाई भेट्न प्रधानाध्यापक कोइराला असोज २९ गते दिउँसो २.३० बजे काठमाण्डौबाट हिडेका थिए भने उनी ३० गते दिउँसो २ः१५ बजे ती महिलाको घरमा आइपुगेका थिए । महिलाको घरमा आइपुगी खाजा खाएर उनी भिमादेवीसंग घुम्न गएका थिए । बेलुका भिमादेवीको घरमा खाना खाएर गफ गर्दैगर्दा प्रधानाध्यापक कोइराला अचानक ढलेका थिए ।

सामान्य बान्ता गरेका उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याई चेकजाँच गराउँदा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्