लक्ष्मी उप्रेती
मेचीनगर । केही दिनअघि झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको एउटा औषधि पसलमा आएर एकजनाले दुईवटा ‘एल्थ्रोसिन’ औषधि (एन्टिबायोटिक) मागे । पसलेले उनीसँग डाक्टरले सिफारिस गरेको औषधिको पूर्जा (प्रेस्क्रिप्सन) खोजे । त्यसपछि ती मानिसले भने‘मसँग डाक्टरको कागज छैन । मेरो घाटी धेरै वर्षदेखि दुखिरहन्छ, दुखेपछि यही औषधि खान्छु निको भइहाल्छ ।’ औषधि व्यवसायीहरुका अनुसार यो त एउटा प्रतिनिधि घटनामात्र हो । पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधि सेवन बढ्दो छ । जसका कारण एन्टिबायोटिक रेसिसटेन्सको समस्या विकराल बन्दै गइरहेको छ ।

एन्टिबायोटिक औषधि प्रयोगबारे नेपाल सरकारले स्पष्ट गाइडलाइन दिएको भएपनि जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नेको संख्या कम छैन । चिकित्सकको सिफारिसबिना कुनै पनि औषधिको प्रयोग गर्नुहँुदैंन । तर, जथाभावी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढेसँगै औषधि सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दैं सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

‘कुनै रोग लागेमा सम्बन्धित विषयको विशेषज्ञ डाक्टरको सल्लाहमा मात्र एन्टिबायोटिक औषधि सेवन गर्नुपर्छ ’वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरले भने‘ सामान्य रोग लाग्नेवित्तिकै सम्बन्धित चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्नेमा नजिकैको औषधि पसलमा गएर यस्ता औषधि किन्ने र खाने प्रचलन बढ्दो छ ।’ जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको उनको अनुभव छ । ‘यस्ता औषधिले विरामीलाई तत्कालै त केही आराम देला तर दीर्घकालीनरुपमा स्वास्थ्यमा नकारात्मक असर पार्छ ’ डाक्टर ठाकुरले भने ।

मेचीनगर नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर आशिष निरौला स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न नहुने बताउँछन् । जथाभावी एन्टिबायोटिक औषधि सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने र त्यसले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको डाक्टर निरौलाको अनुभव छ । ‘विरामीले तत्काल आरामका लागि जानी नजानी एन्टिबायोटिक औषधि किनेर खाएपनि एन्टिबायोटिक प्रयोग गर्ने बिरामीले डोज अनुसार औषधि प्रयोग नगर्दा बिरामीमा थप अन्य रोग लाग्दा लामो समय निको नहुनेजस्ता समस्या देखिने प्रवल सम्भावना हुन्छ ’ उनले भने ।

जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्दा मानिसमा दीर्घकालीन असर पर्ने र पछि बिरामी हुँदा सामान्य एन्टिबायोटिक औषधिले ठीक हुने तथा कडा खालका महँगोका दामका एन्टिबायोटिक औषधिले मात्रै काम गर्ने प्रादेशिक अस्पताल भद्रपुरका इन्टरनल मेडिसिन कन्सल्टेन्ट फिजिसियन डाक्टर प्रविन भट्टराई बताउँछन् । चिकित्सकको प्रेसक्रिप्सनबिना कुनै पनि औषधि व्यवसायीहरुले एन्टिबायोटिक औषधि दिन नहुने मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरका सञ्चालक दिलिप सुवेदीको भनाई छ । ‘समाजमा एन्टिबायोटिक औषधिका बारेमा चेतना छैन, फलानाले यहि औषधि खाएर निको भयो अरे, अस्ति यहि औषधिले मेरो निको भएको जस्ता कुरा गरेर औषधिको खोल बोकेर मानिस एन्टिबायोटिक औषधि किन्न आउने गरेका छन्’ स्वास्थ्यकर्मी समेत रहेका सुवेदीले भने‘एन्टिबायोटिकको सही प्रयोग नभएमा रोगको किटाणु मर्नुको सट्टा पछि त्यही औषधि प्रयोग गर्दा रोगका किटाणु मर्दैनन् यो अवस्थालाई एन्टिबायोटिक रेसिसटेन्स अर्थात किटाणुको प्रतिरोधात्मक क्षमतामा वृद्धि भनिन्छ ।’

स्वास्थ्य परीक्षण नै नगरी औषधि दिँदा एन्टिबायोटिकको गलत प्रयोग हुन पुगेको सरोकारवालाहरुको भनाई छ । ‘जथाभावी एन्टिबायोटिक औषधिको सेवनले शरीर रेसिस्ट भइसकेको हुन्छ’ प्रादेशिक अस्पताल भद्रपुरका वरिष्ट सर्जन डाक्टर विनेश झा भन्छन्, ‘यस्तो अवस्थामा सामान्य औषधिले काम नगर्ने सम्भावना हुन्छ ।’ चिकित्सकले सिफारिस गरेको पूरा औषधि नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा एन्टिबायोटिकको मात्रा मिलाएर दिन नसक्नेलगायतका कारण पनि जथाभावी एन्टिबायोटिकको प्रयोग भइरहेको बताइएको छ ।

संक्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालको भनाई अनुसार विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको छ । यसले आउने दिनमा ठूलै समस्या निम्त्याउन सक्छ । जसका कारण सबैको पहुँचमा नहुने महँगो औषधि सेवन गर्नुपर्ने बाध्यता सर्वसाधारणले वेहोर्नु परेको छ । गरिब तथा विपन्न वर्गले त खरिद गरेर सेवन गर्न नै सक्दैनन् । जथाभावी एन्टिबायोटिक औषधि सेवनको विषयमा सर्वसाधारणलाई जनचेतना जगाउन आवश्यक रहेको प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामबाबु खडकाको भनाई छ । एन्टिबायोटिकको व्यापक प्रयोग हुनु र त्यसको अनुगमन नुहुनुले एन्टिबायोटिक रेसिसटेन्सको समस्या विकराल बन्दै गइरहेको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्