झापा, कात्तिक १ । संखुवासभामा बोइलर कुखुराको मासु खाएर ८ जना विरामी परेका छन् ।

मासु खाइसकेपछि झाडापखाला लागेर बिरामी भई उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । असोज २९ राति ८ः३० बजे संखुवासभा खाँदबारी– २ चेवा बेतनी बस्ने टेकबहादुर बि.क.ले किनेर ल्याएको कुखुरा खाएर विरामी परेका हुन् । उनले सोही ठाउँ बस्ने घनश्याम खनालको मासु पसलबाट जिउदो बोइलर कुखुरा किनेर ल्याएका थिए । मासु बनाई खाएकोमा १२ जना परिवार सदस्यमध्ये ८ जना विरामी परेका हुन् ।

विरामी पर्नेहरुमा पाँचखपन ७ बस्ने १७ वर्षीया सन्जु बि.क., सोही ठाउँ बस्ने २ वर्षीय ओमन बि.क.,खाँदबारी २ बस्ने ८ वर्षीय पवन बि.क., सोही ठाउँ बस्ने ६ वर्षीया अन्जली बि.क., भोजपुर षडानन्द १ बस्ने ३० वर्षीया कमला बि.क., सोही ठाउँ बस्ने ११ वर्षीया ममता बि.क.,१० वर्षीय नबिन बि.क. र वडा नं २ बस्ने २२ महिनाकी सोनिया बि.क.रहेका छन् ।

उनीहरुलाई बुधवार दिउँसो ३ बजे उपचारको लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी ल्याइएको छ । सबैको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्