बिर्तामोड , कात्तिक २ । बिर्तामोड नगरपालिकामा कर्मचारीतन्त्रको रवैया र गुटबन्दीका बारेमा धेरै सेवाग्राहीहरुले गुनासो गरिरहँदा त्यसकै कारण आफूले सरुवा लिएर गएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले खुलासा गरेका छन् ।


झापाको चन्द्रगढी घर भएका खतिवडाले बिर्तामोडमा लामो समय काम गर्ने सोच बनाएका थिए । तर, काम गर्ने वातावरण नै नभएपछि छ महिनामै आफूले सरुवा लिएर जिल्ला समन्वय समिति भक्तपुर आएको उनले बताए । जनप्रतिनिधिभन्दा कर्मचारीहरुकै कारण आफूले काम गर्न नसकेको उनको भनाई छ । ‘जनप्रतिनिधिहरुले सहयोग नै गर्नुभएको थियो ’ उनले भने ,‘ कर्मचारी र बाहिरी हस्तक्षेपका कारण काम गर्ने वातावरण छैन ।’ बिर्तामोड नगरपालिकामा यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरु पशुपति खतिवडा र विनोद न्यौपानेले मात्र टिकेर काम गर्न सकेका थिए । राधाकृष्ण खतिवडाजस्तै गणेश दाहालले पनि टिकेर काम गर्न सकेनन् ।

सरुवा लिएर गएका खतिवडा

बिर्तामोड नगरपालिकामा जनप्रतिनिधिभन्दा कर्मचारीहरु हावी भएको गुनासो छ । नगरपालिकामा कर्मचारीहरुको तीनवटा गुट देखिएको र गुटगत राजनीतिका कारण कार्यालयको कामकाज र सेवाग्राहीहरुको सेवा प्रभावित हुने गरेको बताइएको छ । गुटबन्दीका कारण एउटा शाखा हेर्ने शाखा प्रमुखले अर्को शाखा प्रमुखसंग बोलचाल नै नगरेको पाइएको छ ।खतिवडा दशैअघि सरुवा भएर गएका हुन् । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भनेर टुंगो लागेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्