झापा, कात्तिक २ । झापा मेचीनगर– ६ को पुरानो मेची पुलमा लागूऔषधसहित दमकका दुई युवा पक्राउ परेका छन् ।
हिजो साँझ ७ बजे लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका दमक ५ बस्ने ३५ वर्षीय रुपेन्द्र भण्डारीलाई शंका लागेर उनको शरीर तलासी लिँदा मलद्वारमा प्लाष्टिकसहित २ ग्राम ६२० मिलिग्राम ब्राउनसुगर लुकाएर राखेको फेला परेको थियो । उनीसहित सोही ठाउँ बस्ने ३४ वर्षीय नारायणबहादुर बस्नेतलाई समेत नियन्त्रण लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो ३ बजे धनकुटा– १ हिले सिरानमा प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पैदलयात्री हिले बस्ने २५ वर्षीय फुर्वा तितुङ (तामाङ) र न्यूरोड टोल बस्ने २७ वर्षीय छितेन तामाङलाई शंका लागेर चेकजाँच गर्दा फुर्वाको पाइन्टको गोजीबाट १४ ग्राम र छितेनको ज्याकेटको गोजीबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
त्यस्तै नजिकै शंकास्पद अवस्थामा रहेका धनकुटा महालक्ष्मी– ९ बस्ने २८ वर्षीय मनोज भण्डारी र धनकुटा– १ गैरी टोल बस्ने २७ वर्षीय सोनाम तामाङ समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।