झापा, कात्तिक २ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले आज साँझ ६.४५ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न आज अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो।