झापा, कात्तिक ३ । सहकारी ठगी प्रकरणमा मुछिएका विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई शुक्रबार कारागार चलान गरिएको छ।


जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो। न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न शुक्रबार आदेश दिएको हो। तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

उनका अनुसार आदेशलगत्तै सहकारीका अध्यक्ष कर्णलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ। सहकारीको रकम हिनामिना र अपचलन गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सञ्चालक तथा ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर गरिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष कर्णसहित उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, सञ्चालक प्रभाकर थापा (सञ्जय)सहित १०९ जनालाई प्रतिवादी बनाएर ‘सहकारीको रकम हिनामिना शीर्षक’मा मुद्दा दायर गरेको हो।मुद्दा दायर गरिएकामध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु हुन्। अन्य खराब ऋणीहरु हुन्।

सहकारीको रकम नतिर्ने ऋणीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। मुद्दा दायर गरिएकामध्ये अध्यक्ष कर्ण मात्रै पक्राउ परेका थिए। अन्य सञ्चालक र ऋणीलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतका सूचना अधिकारी बुढाथोकीले फरार रहेकाको हकमा अदालतबाट पक्राउ पुर्जी जारी हुने जानकारी दिए।

प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा उक्त सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो। तर, प्रहरीको अनुसन्धानबाट भने ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ मात्रै हिनामिना भएको खुलेको छ। अदालतमा सोही बिगो दाबीसहित मुद्दा दायर भएको सरकारी वकिल कार्यालयले जनाएको छ।

सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए। ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ताको माग गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्