झापा, कात्तिक ३ । निर्माणाधिन बिर्तामोड–भद्रपुर सडकभित्र परेको गरामनीको दुर्गा मन्दिर नसारिने भएको छ ।

ऐतिहासिक एवं धार्मिकस्थल भएकाले ठेकेदार कम्पनीले दुर्गा मन्दिर नसार्ने गरी बाटो निर्माण गर्ने भएको हो । यद्यपि सडकको क्षेत्रभित्र मन्दिरको आधा भाग परेको छ । ऐतिहासिक एवं धार्मिक धरोहर भएकाले मन्दिर नसार्नेगरी गरामनी बजारमा सडक विस्तार गरिने सडक निर्माणको ठेक्का पाएको कंचन निर्माण सेवाका प्रोप्राइटर केदार गिरीले बताए । उनले मन्दिरको पछाडिपट्टीको पर्खाल चाहिँ भत्काइने जानकारी दिए ।

ठेकेदार कम्पनीले मन्दिर रहेको गरामनी बजारलाई छोडेर पूर्व र पश्चिमपट्टी सडक निर्माण लगभग पूरा गरिसकेको छ । दुर्गा मन्दिरको पूर्व र पश्चिम दुवैपट्टी ड्रेन बनाइसकेको ठेकेदार कम्पनीले मन्दिर भएको ठाउँमा भने काम रोकेको छ । सडकको चौडाई १५–१५ मिटर दायाँ बायाँ तय गरिएको छ । दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’ले कुनै पनि हालतमा मन्दिर सार्न नदिने बताए । बाटो विस्तार गर्दा मन्दिरलाई सोही स्थानमा व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । तीन वर्षअघि बिर्ताबजारको दुर्गा मन्दिर सारिएको थियो । सो मन्दिर पनि बिर्तामोड– भद्रपुर सडकभित्र परेको थियो । मन्दिर सार्दा केही व्यक्तिलाई अनिष्ट भएको कतिपयको बुझाई छ ।

अनादिकालदेखि आस्थाको धरोहरको रुपमा रहेको पुरातात्विक महत्वको त्यस शक्तिपीठलाई छुनै नमिल्ने स्थानीय भक्तालुहरुले बताउँदै आएका छन् । केदार गिरीले निर्माणको जिम्मेवारी पाएपछि बिर्तामोडको धौला पुलदेखि देउनियासम्म तीब्र गतिमा सडक निर्माण भइरहेको छ । अहिलेसम्म करिव ५५ प्रतिशत काम पूरा भएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्