झापा,कात्तिक ३ । खुम्बु क्षेत्र जाने पर्यटकका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले भाडादर तोकेको छ।

केही दिन देखिको खराब मौसमका कारण लुक्लामा नियमित उडान हुन नसकेकोले सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरू सल्लेरी जुभिङ हुँदै थामडाँडासम्म गाडीमा आवतजावत गरिरहेका छन्।

त्यसैले पर्यटकहरूको आवगमनलाई सहज बनाउन यातायात व्यवसायीलाई तोकिएको भाडादर भन्दा बढी नलिन गाउँपालिकाले अनुरोध गरेको छ।

सल्लेरी दुधकोशी जुभिङसम्म प्रतिव्यक्ति १३०० रुपैयाँ तोकिएको छ। त्यस्तै, दुधकोशी जुभिङदेखि यामडाँडासम्म प्रतिव्यक्ति १२०० रुपैयाँ तोकिएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, दुधकोशी जुभिङदेखि थामडाँडासम्म रिजर्भको लागि भने १५००० रुपैयाँ तोकिएको छ।

क्यु सिस्टम तोक्ने, कृत्रिम अभाव सृजना गर्ने, कुनै पनि बाहानामा महँगो भाडा असुल्ने जस्ता क्रियाकलापहरू पूर्ण रूपमा निषेध गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार राति ९ बजेदेखि बिहान ५ बजेसम्म र प्रतिकूल मौसम भएको समयमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन ओहोरदोहोर गर्न पाइने छैन।

‘यस क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने सवारी साधनले अनिवार्य रूपमा खरिखोला प्रहरी चौकी र पैंया प्रहरी चौकीको चेक पोष्टमा इन्ट्री गराउनु पर्नेछ,’ गाउँपालिकाले भनेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्