झापा, कात्तिक ३। असोज महिनामा करिब छ हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त संख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।

अहिले पाथीभरा दर्शन गर्ने मुख्य मौसम हो। यसवर्ष पाथीभरा दर्शनको मौसम सुरु भएलगत्तै भएको अविरल वर्षाका कारण असोज १२ गतेदेखि ठाउँ–ठाउँमा गएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा तीर्थयात्रीले तीर्थयात्रामा निस्कन पाएका थिएनन्। सडक अवरुद्धसँगै असहज परिस्थितिबिच असोज महिनामा कुल पाँच हजार ९४९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।

मुख्य मौसम दसैँको नवरात्रिको समयमा करिब दुई सातासम्म सडक अवरुद्ध भएकाले पाथीभरामा भक्तजनको उपस्थिति न्यून भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नवरात्रिको अवधिभर पाथीभरा दर्शनमा स्थानीय मात्र पुगेका थिए। अवरुद्ध सडक अर्थात मेची राजमार्ग खुलेपछि मात्र पाथीभरामा जिल्लाबाहिरका भक्तजन आउन थालेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।

हाङ्बाङका अनुसार सडक अवरुद्ध खुलेसँगै दसैँको अन्तिमतिर मात्र बाहिरका जिल्ला र छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, कोलकत्ता, आसाम लगायतबाट पाथीभरा दर्शनमा भक्तजन आउन थालेका थिए । समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार पछिल्लो तीन चार दिनयता मात्र पाथीभरामा दैनिक एक हजारभन्दा बढी भक्तजन पुग्न थालेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्