प्रा. अरुण नेपाल
सन् १९९२ मा जन्मिएको Nepal English Language Teachers’ Association (NELTA) आज ७ वटै प्रदेश र ५९ वटा जिल्लामा विस्तार भैसकेको छ । देशैभरिका सबै शिक्षण संस्थाहरुमा अंग्रेजी शिक्षण गर्ने सबै अंग्रेजी शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्ने प्रमुख उद्देश्य बोकेर स्थापना भएको सबै अंग्रेजी शिक्षकहरूको साझा पेशागत संगठन नेल्टाले सन् २०२४ मा ३२ वर्षको उमेर पार गर्दा उक्त संस्थाले आफ्नो उद्देश्य धेरै हदसम्म पूरा गर्दै आएको मेरो आफ्नो अनुभूति छ । नेल्टा ४ वर्षको हुँदा सन् १९९८ मा उक्त संस्थाको आजीवन सदस्य बन्ने सुनौलो अवसर प्राप्त भएको थियो मलाई । यसरी विगत २८ वर्षदेखि मसंग औपचारिक रुपमा साइनो गाँसिएको एक प्रिय सङ्गठन नेल्टाले हरेक वर्ष आयोजना गर्दै आएका हरेकजसो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै आउँदा प्रभावकारी अंग्रेजी भाषा शिक्षणका सवालमा ती सम्मेलनहरुले प्रदान गरेका अत्यन्तै पौष्टिक खुराकले मेरो प्राज्ञिक जीवनमा पारेको प्रभाव त म यो छोटो टिप्पणीमा उल्लेख गर्नै सक्दिनँ । नेल्टाले नै हरेक वर्ष प्रकाशन गर्दै आएको नेल्टा जर्नल र अन्य प्रकाशनले ती खुराकको सारसंक्षेप र अन्य जल्दाबल्दा विषय पाठकवर्गसामु पस्कदै आएको कुरा सबैलाई जगजाहेर नै छ । ३२ वर्षे नेल्टाका ७ वटा प्रदेशस्तरीय शाखामध्ये पनि कोशी प्रदेशको चौथो प्रादेशिक सम्मेलनका सम्बन्धमा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईको अन्तर्वार्ता सुनेपछि नेल्टा आफ्नो जन्मकालदेखि नै आफ्ना उद्देश्य पूरा गर्न दृढतापूर्वक लागिरहेको रहेछ भन्ने कुरा गहिरोसंग अनुभूति भयो । त्यसपछि मलाई नेल्टाको उदयसंग प्रसङ्ग जोड्दै नेल्टा कोशीको आसन्न सम्मेलनका बारेमा यो संक्षिप्त टिप्पणी गर्न मन लाग्यो । नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपालले सेयर गरेको उक्त अन्तर्वार्ता सुनेपछि मेरा मनमा जे जस्ता कुरा उत्पन्न भए तिनै कुरा निम्न ३ बुँदामा समेटेर यहाँहरुसमक्ष सेयर गर्न मन लाग्यो ।
१) विगतमा नेल्टाले अधिकांश अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौ र ललितपुरमा आयोजना गर्यो भने केही सम्मेलन पोखरा र हेटौंडालगायतका स्थानमा समेत आयोजना गर्यो । ती सबैजसो अन्तर्राष्ट्रिय सम्मेलनको झल्को यो प्रादेशिक सम्मेलनले समेत प्रदान गर्नेरहेछ कि के हो भन्ने अनुमान गर्न उक्त अन्तर्वार्ताले मलाई चाहिँ बाध्य नै बनायो । मेरो यो अनुमान कार्तिक २४ र २५ गते झापा जिल्लाको सुन्दर नगरी दमकमा सम्पन्न हुने सम्मेलनले सही सावित गर्नेछ भन्ने कुरामा कम्तीमा म चाहिँ ढुक्कजस्तै छु ।
२) पेशागत दक्षता हासिल गर्न हरेक शिक्षक नेल्टाजस्तो स्वयंसेवी भावनाले ओतप्रोत संगठनसंग जोडिन सक्नुपर्छ भन्ने सन्देश उक्त अन्तर्वार्ताले प्रवाह गरेको छ , जुन कुरा नेल्टाको एउटा प्रमुख विशेषता नै हो । कोशी प्रदेशमा मात्र नभएर देशैभरि त्यति महत्वपूर्ण सन्देश छर्न सफल उक्त अन्तर्वार्ताले शिक्षण पेशाप्रति प्रतिबद्ध हरेक शिक्षकलाई उक्त सम्मेलनमा सहभागी हुने निकै मीठो भोक जगाएजस्तो लाग्यो; एउटा नवीन जोश, जाँगर र उत्साह प्रदान गरेजस्तो लाग्यो । सम्मेलनलाई सभ्य र भव्य ढंगले सफल पार्न विशेष गरेर झापा जिल्लाका सबै पालिका लगायत कोशी प्रदेश र देशैभरिका सम्पूर्ण सरोकारवालाको ध्यान खिच्न उक्त अन्तर्वार्ता एक हदसम्म सफल भएजस्तो लाग्यो ।
३) विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर प्रभावकारी अंग्रेजी शिक्षणका सम्बन्धमा विभिन्न विचार विमर्श गर्ने विशिष्ट विशेषता बोकेको नेल्टाको यो विशिष्टतालाई यो प्रादेशिक सम्मेलनले दह्रोसंग पक्रने रहेछ भन्ने कुरा पनि उक्त अन्तर्वार्ता सुनेपछि मलाई चाहिँ गहिरोसंग नै अनुभूति भयो; जुन कुरा आजको एउटा अनिवार्य आवश्यकता र वर्तमान समयको जल्दोबल्दो माग नै बन्दै गएको छ । गुणस्तरीय शिक्षाको बलियो जग विद्यालय शिक्षाले तयार गर्छ भने त्यहि जगमा बलियोसंग अडिएर सुन्दर कोठा थप्ने र छानो लगाउने काम विश्वविद्यालय तहको शिक्षाले गर्छ । दुवै तहका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर तिनका ज्ञान, सीप र अनुभव घोलघाल गरी त्यो बलियो जग, सुन्दर कोठा र छानालाई चम्काएर टिलिक्क टल्काउनेजस्तो निकै चुनौतीपूर्ण काम विगत ३२ वर्षदेखि नेल्टाले गर्दै आएको छ । नेल्टाको त्यो गौरवपूर्ण इतिहासको साख उक्त प्रादेशिक सम्मेलनले थप उकास्ने रहेछ भन्ने अनुभूति उक्त अन्तर्वार्ता सुन्ने जोकोहीलाई स्वतः हुन्छ जस्तो लाग्छ ।
पहिलोपटक उक्त अन्तर्वार्ता सुन्दा मेरा मनमा उत्पन्न भएका मुलतः यी ३ कुरा आज यहाँहरुसंग सेयर गर्न मन लाग्यो । उक्त अन्तर्वार्ताका सम्बन्धमा मेरो यो नितान्त व्यक्तिगत बुझाई र प्रतिक्रिया हो । उक्त अन्तर्वार्ता सुनेपछि यहाँहरुलाई फरकफरक अनुभूति हुन सक्छ, जुन अत्यन्तै स्वाभाविक कुरा हो । तर सबै दर्शक र स्रोताका लागि धेरै कुरा फरक लागेपनि एउटा बुझाई चाहिँ सबैको समान नै होला भन्ने मेरो अनुमान छ । त्यो भनेको आफ्नो शिक्षण पेशालाई तिखार्न र निखार्न आतुर पेशाप्रति प्रतिबद्ध कोशी प्रदेशका अंग्रेजी शिक्षकहरूका लागि २०८१ साल कार्तिक २४ र २५ गते एउटा सुनौलो अवसर बनेर आएको छ । उक्त अवसरको भरपूर उपयोग गर्न पेशाप्रति प्रतिबद्ध सबै शिक्षक सम्मेलनमा सक्रियतापूर्वक सहभागी हुनेछन् । आ–आफ्ना पेशागत अनुभव र अनुभूति खुलेर सेयर गर्ने छन् । सम्मेलनका क्रममा हुने हरेक छलफल, वहस, अन्तरक्रिया र प्रस्तुतिमा बिना कुनै हिच्किचाहट सक्रियतापूर्वक भाग लिने छन् । यसरी कोशी प्रदेशका जतिसक्दो धेरै अंग्रेजी शिक्षकहरू उक्त प्रादेशिक सम्मेलनमा सक्रिय रुपमा सहभागी भएर शिक्षण पेशालाई थप तिखारौं । शिक्षण पेशाको मर्यादा उचो राख्न जमेरै बहस गरौं । उक्त अन्तर्वार्तामै भनिएजस्तै अंग्रेजी शिक्षणमा मात्र नभएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा नै नेल्टाले महत्वपूर्ण भूमिका खेल्न सक्नेरहेछ भन्ने सन्देश प्रवाह गर्न कुनै कसर बाँकी नराखौ ।
यति मननीय सन्देश प्रवाह गर्न सक्ने र समग्र नेल्टा एवं नेल्टा कोशीको आसन्न प्रादेशिक सम्मेलनका बारेमा मलाई पनि यो टिप्पणी गर्न उत्प्रेरित त्यति सुन्दर अन्तर्वार्ता दिनुभएकोमा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईलाई हार्दिक बधाई । त्यो सुन्दर अन्तर्वार्तालाई सेयर गरी हामी सबैले सहजै हेर्न र सुन्न्न सक्ने अवसर प्रदान गर्नुभएकोमा नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपाललाई मुरीमुरी धन्यवाद । नेल्टाको चौथो कोशी प्रदेश सम्मेलन सबै सरोकारवालाले एकीकृत रुपमा भब्यतापूर्वक सफल पारौं । हार्दिक शुभकामना ।