झापा,कात्तिक ४ । चाडपर्वको मौसमसँगै यतिबेला ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो छ । जिल्लाकै प्रमुख नगदे बालीको रूपमा रहेको अलैँची पाक्ने समय भएकाले हिजोआज किसानलाई अलैँची थन्क्याउने चटारो परेको हो ।

हिन्दुहरूको महान् चाड दसैँ भर्खरै सकिएको छ । त्यस्तै, दोस्रो ठुलो चाडका रूपमा तिहार (दीपावली) नजिकिँदै छ । दसैँ, तिहारसँगै विभिन्न मौलिक चाडपर्वको हालको मौसममा ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याई छ । अलैँची पाक्न थालेपछि थन्क्याउनलाई ढिलो गरेमा चरा, मुसा तथा जङ्गली जीवजन्तुले खाएर नोक्सान बनाइदिने हुँदा चाडपर्व नभनी यहाँका किसान अलैँची थन्क्याउन व्यस्त छन् ।
अलैँची थन्क्याउने कर्मअन्तर्गत अहिले किसानहरू अलैँची टिप्न, छोडाउन, सुकाउन र व्यवस्थापन गर्नमा व्यस्त बनेका छन् । अलैँची पाक्ने समय भएकाले चाडपर्व नभनी अलैँची थन्क्याउनमा व्यस्त बनेको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका खाङ्डु शेर्पाले बताए ।
उनले अलैँची बगानमै दसैँ मनाएको बताए । गाउँ अर्थात् खेजेनिमबाटै अलैँची थन्क्याउनमा मजदुरी गर्न आएका सर्वसाधारणले समेत बगानमै दसैँ पर्व बितेको बताएका छन् । किसानका अनुसार अब नजिकिएको तिहार पर्व पनि अलैँची बगानमै बित्ने बताउँछन् ।

अलैँची पाक्न थालेपछि थन्क्याउन अर्थात् टिप्नलाई ढिलो भएमा चरामुसाले खाएर नोक्सानी गर्ने हुँदा चाडपर्वभन्दा पनि अलैँची थन्क्याउने काम ध्यान दिनुपर्ने बाध्यता भएको अर्का किसान जङ्गबहादुर लिम्बूको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्