झापा,कात्तिक ४ । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशीले मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन्।

दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन्। उनले पोलेको सानो मकै घोगा २० र ठूलो मकै ४० सम्ममा बिक्री गर्दै आएकी छन् ।

उनले भनिन्, ’विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।’ दिनमा मकै बेचेर एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् ।
’महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाई हुन्छ,’ उनले भनिन् ।
इटहरी–२ की पार्वती चौधरी पनि तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । ’बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु,’ उनले भनिन् ।
मकै प्रतिघोगा १० देखि १५ मा खरिद गरेर २० देखि ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन्। फुर्सदको समयमा उनले बिहान जङ्गल गएर दाउरा सङ्कलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् ।

उनले भनिन्, ’बिहान दाउरा खोज्न जान्छु, जङ्गलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्