झापा, कात्तिक ४ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।


आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमति राखेर पार्टीको निर्णयविपरित विचार राखेको भन्दै पार्टीका पूर्व उपाध्यक्ष रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताए।

पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरूमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।

उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णयविपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए।

उनले भने, ‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरूलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । लामो समय पार्टी नीतिसँग असहमति राखेर आफ्ना विचार राखिरहनुभएका पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णयविपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यस प्रकारका गतिविधि गरिरहनुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोधिने भएको छ ।’

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले सिफारिस गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्