झापा, कात्तिक ४ । पार्टीको केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफू सत्यको पक्षमा उभिने बताएकी छन्।

आइतबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उनीलगायत तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सार्वजनिक भएलगत्तै उनको यो प्रतिक्रिया आएको हो।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनु पर्दछ – गौतम बुद्ध’ भन्दै नेतृ बिन्दा पाण्डेसँगको तस्बिर सार्वजनिक गरेकी छन्।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा उनीहरूले सार्वजनिक रुपमै विरोध गरेका छन्।
तिम्सेनाले आइतबार बिहान एक सञ्चारमाध्यसँगको अडियो अन्तर्वार्तामा पार्टी नेतृत्वको जग्गा दान लिने निर्णयको विरोध गरेकी थिइन्।
एमालेको केन्द्रीय सचिवालय बैठकले पूर्व उपाध्यक्ष डा. भीम रावलसंगै स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।