झापा, कात्तिक ५ । सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुण्डिएर नदी वारपार गर्न बाध्य भएका छन्। गत असोज १२ गते सुनकोशीमा आएको बाढीले पुल बगाएपछि अहिले डिकुवाका नागरिकहरु ज्यानको बाजी राखेर नदी वारपार गरिरहेका छन् ।
सुनकोशीमा आएको बाढीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र उदयपुरको ताप्ली गाउँपालिका–५ रुपटारको निबुवाटार जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको थियो । हालसम्म उक्त पुल मर्मतमा राज्यको कुनै पनि निकायको नजर नपुगेपछि नागरिक पुलमा झुण्डिएर नदी वारपार गर्न बाध्य बनेका हुन् ।
डिकुवा–निबुवाटार जोड्ने पुलको दायाँ–वायाँको सपोर्ट लट्ठा चुँडिनुका साथै खोटाङतर्फको टावर ढल्किँदा पुल कोल्टिएको छ । तर कतिपय स्थानीय जोखिम मोलेर कोल्टिएको पुलबाट झुण्डिएर आवतजावत गरिरहेको डिकुवा आधारभुत विद्यालयका प्रधानाध्यापक प्रमेश तिलुङ राईले बताए ।
बाढीले डिकुवा–निबुवाटार सहित डिकुवा चारबोटे र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल बगाएको थियो । डिकुवाको चारबोटे र सोरुङछबिसे जोड्ने झोलुङ्गे पुल आवतजावत गर्नै नमिल्नेगरी क्षतिग्रस्त बनेको छ । नजिकको दुई झोलुङ्गे पुल बाढीले बगाएपछि डिकुवाका स्थानीयले विकल्पमा बाईटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार तथा डिकुवा र उदयपुरको रुपटार जोड्ने राजदह पुल प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ ।
तर सुनकोशी बाढीले बाँकी राखेको पुल पुग्न करिब दुई घण्टा घुम्नुपर्ने भएपछि कतिपय स्थानीयले जोखिम मोलेर क्षतिग्रस्त पुलकै प्रयोग गरिरहेको प्रअ राईले बताए । तारजाली बिहिन क्षतिग्रस्त पुलबाट वारपार गर्नेक्रममा स्थानीय नदीमा खस्ने त्रास बढेको छ ।