झापा , कात्तिक ५ । झापाको हल्दिवारी–१ गोलधापबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति १०ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड मोबाइल २ थान बरामद गरेको छ । पक्राउ पर्नेहरुमा हल्दिबारी– १ बस्ने वर्ष ६३ का यज्ञराज त्रिताल, सोही ठाउँ बस्ने वर्ष ४५ का बिरबहादुर गुरुङ, वर्ष ४२ का रामनाथ साह, वर्ष ६१ का भानुभक्त न्यौपाने, वर्ष ६२ का अशोक राई,सरोज दाहाल, वर्ष ३८ का प्रकाश गुरुङ ,बिर्तामोड– ५ बस्ने वर्ष ५२ का राजन चुडाल, भद्रपुर १० बस्ने वर्ष ५५ का राजेन्द्र तुलाधर , सोही ठाउँ बस्ने वर्ष ४३ का यादव भट्टराई , वर्ष ५८ का रामबाबु राउत, वडा न. ८ बस्ने सुवास न्यौपानेलगायत रहेका छन् ।

पक्राउ पर्नेहरु कर्मचारी र राजनीतिकर्मी पनि रहेका छन् । पक्राउ परेका भद्रपुर १० का यादव भट्टराई खानेपानी कार्यालयका कर्मचारी हुन् भने हल्दिवारी १ का सरोज दाहाल एमालेनिकट युवा संघको कार्यकर्ता भएको बताइएको छ ।

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र आबश्यक अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

जुवाडेको पहिचान लुकाउने प्रयास
स्वयं जुवाडे र प्रहरी समेतले पक्राउ पर्नेहरुको पहिचान लुकाउने प्रयास गरेको पाईन्छ । राति हल्दिवारीमा पक्राउ परेका धेरैजनाको नाम , थर , वतन र उमेर लुकाउने प्रयास गरिएको छ । प्रहरीले खानेपानीका कर्मचारी यादव भट्टराईको नाम माधव भट्टराई , हल्दिवारी १ का भानुभक्त न्यौपानेको थर भानुभक्त नेपाली , प्रकाश गुरुङको थर प्रकाश गिरी भनेर पत्रकारहरुलाई टिपाएको छ । त्यस्तै नचिनोस् भनेर धेरैजनाको उमेर गलत लेखिएको छ ।

यसअघि झिलझिलेमा नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारी जुवा खेल्दै गर्दा पक्राउ परेकोमा प्रहरीले उनको नाम मिलन भण्डारी भनेर सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरुले भनेको आधारमा प्रहरीले नाम टिपेर सार्वजनिक गर्ने गरेको बताएको छ । तर, पछि नागरिकता मगाउन लगाई उनीहरुको नाम, थर र वतन प्रहरीले यकिन गर्ने गरेको छ । असली नाम थर वतन पत्ता लागेपनि प्रहरीले त्यसलाई सार्वजनिक गर्ने गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्