झापा, कात्तिक ६ । कर्तव्य ज्यान मुद्धामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ९ जना समर्थक आज जेल चलान भएका छन् ।

उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । ज्यान मुद्धामा कारागार चलान हुनेहरुमा हल्दिबारी –१स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय विरबहादुर गुरुङ , पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन् । फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।

उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारवाही अगाडी बढाएको थियो । झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडी बढाइएको थियो ।

अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाडौमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले गत असोज ६ गते राति १०.३० बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको कुमार महतोले चलाएको UP57AT4493 नं. को भारतीय ट्रक र सोही रातिको बिहान २.३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको WB 73 E 3056 नं. को अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए । मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरुले ट्रक चालकलाई मार्ने उद्धेश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।

ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसंग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको थियो ।

उदण्ड गतिविधि गर्दै आएपछि प्रसाईका समर्थकहरु एकपछि अर्को गरी पक्राउ पर्दै गएका छन् । गत असोज २५ गते पीडीएफका केन्द्रीय अध्यक्ष मिलन लामा काठमाडौमा पक्राउ परेका थिए ।
पुण्य गौतमलाई आक्रमण गरेको आरोपमा पीडीएफका केन्द्रीय अध्यक्ष रसुवा नवकुण्ड ५ का ४१ वर्षका मिलन भनिने दिलबहादुर गङदान र काभ्रे तेमालका ३० वर्षका टासी लामा पक्राउ परेका हुन् ।

साइबर अपराधमा पक्राउ परेका दुर्गा प्रसाई पनि एक लाख रुपैयाँ धरौटी तिरेर ९ दिनपछि रिहा भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्