झापा, कात्तिक ७ । नेपाल एकदिवसीय अभ्यास खेलमा अमेरिका ‘ए’ सँग पराजित भएको छ ।

टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग चार विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको ८१ रनको लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

अमेरिकाका लागि नितिस रेड्डीले २९, राहुल जरिवालले २६ र सञ्जय कृष्णमूर्तिले १० रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले चार तथा करण केसी र ललितनारायण राजवंशीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५.३ ओभरमा सबै विकेटको क्षतिमा ८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा अमेरिकाका लागि आरिक नदकर्णीले चार, अयान देसाइले दुई तथा उत्कर्ष श्रीवस्ताव र अली शेखले एक एक विकेट लिए ।

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिका ‘ए’ सँग अभ्यास खेल खेलेको हो । यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गरेको थियो ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्