झापा , कात्तिक ७ । काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन् । मनोज लिम्बूकी अन्दाजी ९ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवा ६० वर्षीय टेकबहादुर लिम्बूको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबा बर्थडे लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रिबसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँको अबस्था तनावग्रस्त रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्