विनोद सापकोटा,
झापा । सिंगो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन भन्दा धेरैलाई विश्वास लाग्दैन । विश्वास नलाग्ने कारण पनि छ । त्यो हो– ०७४ सालको चैत्र २५ गते झापाको शिवसताक्षी खुल्ला दिसामुक्त नगर घोषणा भइसकेको हो । तर, नयाँ सहरको रूपमा विकास भइरहेको नगरको ठुला बजारमध्येको दुधेमा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन ।

शौचालय नहुँदाको पीडा अहिले पर्यटक, बटुवा र सवारी साधनका यात्रुमा छ । नगरकै ठुलो सहरोन्मुख बजारमा तिनै पर्यटक, बटुवा र सवारी साधनका मजदुरदेखि यात्रीसम्म चिनजानकादेखि आफन्तको निजी शौचालय खोज्न दिनहुँ भौँतारिने गर्छन् ।

यो समस्या वर्षौदेखिको हो । यतिमात्र होइन, आफूलाई आवश्यक परेको समयमा सार्वजनिक शौचालय नभेटेपछि अमूक पसल र होटलमा पुगेर शौचालय प्रयोग गर्न उनीहरु बाध्य छन् । आफन्त र चिनजानका मानिसको घरमा ताला लागे उनीहरु होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर शौच गर्न जान्छन् ।
साताको शनिवार दुधे बजार बन्द हुन्छ । त्यसदिन शौचालयको आवश्यक परे झाडी, बिजुलीको पोल, पार्किङ गरिएका सवारीका साधनमा छलिएर शौच गर्न दुधेका सर्वसाधारण यात्री बाध्य छन् । ती ठाउँ असुरक्षित महसुस गर्ने स्थानीय भने कटकटी खाएको पेटसंगै घर पुग्ने गरेका छन् ।

महोत्तरीबाट दुधे आएका राम महतोलाई मंगलबार कटकटी पेट खाएको थियो । उनले स्थानीयलाई सार्वजनिक शौचालय कहाँ छ भनेर सोधे । स्थानीयले पनि शौचालय नभएको जानकारी दिए । उनले विकल्प खोजीदिन स्थानीयलाई अनुरोध गरे । तर उनले शौचालय पाएनन् । उनी नजिकैको दुधे खोलामा पुगे र छलिएर खुल्ला शौच गरे । दुधे आएर शौचालय गर्न नपाएर दुःख पाउनेमध्येका उनी एक पीडित हुन् । दुधे बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर उनी अचम्भित भए । ‘नयाँ मान्छेलाई त यहाँ गाह्रै हुँदो रहेछ । ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन । नौलो मान्छेलाई दुधेमा ठुलो समस्या रहेछ नि !’ महतोले भने ।

मानिसका लागि शौचालय त अति आवश्यक पूर्वाधार हो । तर, दुधे बजारमा एउटा पनि सार्वजनिक शौचालय नहुनु शिवसताक्षी नगरको ठुलो कमजोरी भएको महतोले बताए । नगरपालिकाले अहिलेसम्म सार्वजनिक शौचालय निर्माण गर्न नसक्नुले सयौ मानिस पीडित हुनुपरेको उनले बताए । शिवगञ्जका राम चौधरीको गुनासो पनि उस्तै छ । ‘यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनु पर्ने हो । बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ’, उनले भने ।

अटोरिक्सा चालक ज्ञानबहादुर तामाङले शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको गुनासो गरे । ‘बाहिरबाट आउने यात्रुहरू शौचालय कहाँ छ भन्छन् । हामीले कहाँ देखाइदिने ?’, दाहालले भने, ‘होटलतिर गएर चिया, चुरोट मागेर शौचालय खोजेर शौच गर्नुपर्ने अवस्था छ ।’

शौचालय निर्माण गर्ने विषयलाई शिवसताक्षी नगरपालिकाले गम्भीरतापूर्वक नलिएको दाहालकोे गुनासो छ । दाहाल भन्छन्, गुट्खा, चिया, चुरोटलगायतका वस्तु प्रयोग नगरे स्थानीय होटलवालाले शौचालय प्रयोग गर्न दिदैनन् । कहिल्यै सेवन नगरेकाले पनि यी वस्तु खरिद गरेपछि मात्र शौचालय प्रयोग गर्न पाउछन् ।’
अब, दुधे भएर पूर्वपश्चिम र उत्तरदक्षिण जाने सर्वसाधारणको सदियौदेखिको समस्या दूर हुने भएको छ । वर्षौदेखिको समस्यामा स्थानीय दुधे बजार विकास समिति खम्बा भएर ठिङ्ग उभिएपछि सर्वसाधारणको समस्या किनारा लाग्ने भएको हो ।

दुधे बजार विकास समितिले गएको नौरथादेखि विजयादशमीसम्म सार्वजनिक दुर्गा पूजा आयोजना गर्यो । यो कार्यक्रमसंगै मिनी महोत्सवको पनि आयोजना गर्यो । यी दुई कार्यक्रमले शौचालय निर्माणको लागि हौसला बढाएको बजार विकास समितिले जनाएको छ ।

यी दुई कार्यक्रमले समितिलाई हौसला बढाएपछि बजार विकास समितिले हाउजी (बिङ्गो) खेलको आयोजना गर्यो । उक्त खेलबाट दुधे बजार विकास समितिले राम्रै आर्थिक सफलता प्राप्त गर्यो ।समितिका अध्यक्ष सन्तोष थोप्राले भने, ‘दुधे बजारको ठुलो समस्या भनेकै सार्वजनिक शौचालय नहुनु हो । अब हाउजी (बिङ्गो) खेलबाट प्राप्त भएको रकमले दुधेमा सार्वजनिक शौचालय निर्माण हुने छ ।’ उनले नगरपालिकासंग समन्वय गरेर सार्वजनिक शौचालय निर्माण हुने बताए ।

हाउजी खेलबाट बजार विकास समितिले १० लाख १८ हजार बचत गर्न सफल भयो । समितिका अध्यक्ष थोप्राका अनुसार सार्वजनिक दुर्गा पूजाबाट पनि ७ हजार बचत भएको थियो । थोप्राले भने, ‘ यी सार्वजनिक कार्यक्रमबाट बचाउन सकिएको रकममध्ये ५ लाख सार्वजनिक शौचालय निर्माणमा खर्च हुने छ ।’ बाँकी रहेको रकम बजारको राम मन्दिर जिर्णाेद्धारका लागि १ लाख, हटिया लाग्ने बजार क्षेत्रमा सर्वसाधारणका लागि आराम चियर खरिद गर्न ६० हजार र दुधे बजारको सडक बत्ती मर्मत र महशुलका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

समितिको ५ लाखले सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्न त पुग्दैन । अध्यक्ष थोप्राले भने, ‘सार्वजनिक शौचालय निर्माण गर्ने पहिलो दायित्व स्थानीय सरकारको हो । स्थानीय सरकारलाई अनुनय विनय गर्नुको विकल्प समितिसंग छैन । शिवसताक्षी नगरमा एउटा नेतृत्व फेरिएर अर्को नेतृत्व आएको छ । आशा गरौ यो नेतृत्वले बजारबासीको सदियौदेखिको गुनासो सम्बोधन गर्नेमा बजार विकास समिति विश्वस्त छ ।’
यता शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अब बस्ने कार्यपालिका बैठकमा सार्वजनिक शौचालय निर्माणका लागि एजेन्डा प्रस्तुत हुने बताइन् । ‘चालु आर्थिक वर्षभित्रैमा कुनै पनि हालतमा सार्वजनिक शौचालय निर्माण हुन्छ,’ उनले भनिन् ‘शौचालय निर्माणका विषयमा कुनै पनि कारणले शंका गर्नुपर्दैन । यो आवश्यकता नै हो । स्थानीय बजार विकास समितिकै पहलमा नगरपालिकाले शौचालय बनाउँछ ।’
समितिले दुधे बजारको संभावित दुई क्षेत्रमध्ये एउटा स्थानमा सार्वजनिक शौचालय निर्माणको योजना बनाएको छ । अध्यक्ष थोप्राका अनुसार हाटबजार लाग्ने सार्वजनिक जग्गा क्षेत्र र राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय जाने सडक आसपासको जग्गा क्षेत्रमा शौचालय निर्माण हुनसक्ने थोप्राले बताए । करिव २५ लाख बराबरको लागतमा अत्याधुनिक शौचालय निर्माण गर्ने योजना बजार विकास समितिले बनाएको छ ।
झापामा शिवसताक्षीको दुधे बजार बिकास समितिले अन्य बजारको तुलनामा रचनात्मक र अपरिहार्य कार्य गरेर बजारबासीको मन जितेको स्थानीयले बताए । सडक सरसफाई, फराकिलो सडकमा गमलासहितको फूलको डिभाइडर, सडक बत्ती, लागूऔषध विरुद्धको अभियान, बजार अनुगमन र विभिन्न सचेतनामुलक जस्ता कार्यक्रमले समितिको गरिमा उचो बनाएको बजारबासीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्