झापा,कात्तिक ७ । बिर्तामोड –८ गरामनीस्थित दुर्गा मन्दिरमा उत्पन्न विवाद सल्टिएको छ ।

मन्दिरमा खटिएका स्वयंसेवकलाई मन्दिर समितिका उपाध्यक्षले चोर भनेको विषयमा विवाद भएको थियो । बिर्तामोड नगरपालिकाको न्यायिक समितिमा आज भएको छलफलमा चोर भनेको आरोप लागेका मन्दिर समितिका उपाध्यक्ष निलम उप्रेती सुरेशले स्वयंसेवक टेप्रा राजवंशीसंग माफी मागेपछि विवाद मिलेको हो । प्रत्येक बर्षको बडादशैको महानवमीको दिन गरामनीको दुर्गा मन्दिरमा भव्य पूजा आयोजना हुने गरेको छ । सोही दिन मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार राजवंशी समाज विकास समितिबाट परिचालित स्वयंसेवक टेप्रा राजवंशीले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्ष उप्रेतीले चोरीको आरोप लगाएका थिए ।

सोही विषयमा विवाद बढ्दै गई दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिको सचिवालयमा तोडफोड हुनुका साथै तालाबन्दी गरिएको थियो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको उपस्थितिमा ताला खोलिएको मन्दिर समितिका अध्यक्ष देवीप्रसाद पाण्डे दीपकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्