झापा, कात्तिक ८ । दुर्घटनापछि तनावग्रस्त बनेको कमल गाउँपालिकाको केर्खामा १२ जना घाइते भएका छन् ।

प्रहरीतर्फ १० जना र सर्वसाधारणतर्फ दुईजना घाइते भएका हुन् । आक्रोशित स्थानीयहरुले ढुङ्गा प्रहार गर्दा डिउटीमा खटिएका प्रहरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरुमा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ५ जना रहेका छन् । ढुङ्गाले लागेर घाइते हुनेहरुमा नेपाल प्रहरीतर्फ प्रहरी सहायक हवल्दार नविन गडतौला (दाहिने खुट्टामा चोट, अवस्था सामान्य),प्रहरी सहायक हवल्दार सुमित्रा कार्की (नाकमा चोट , अबस्था सामान्य), प्रहरी जवान सुजन बिक(नाकमा चोट ),प्रहरी सहायक निरीक्षक शिवशक्ति राई (टाउको सुन्निएको, अवस्था सामान्य) र प्रहरी सहायक हवल्दार बिजय विश्वकर्मा (दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने ) रहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी हवल्दार रमेश खत्री ( टाउकोमा चोट ,४ टाँका लगाएको),सशस्त्र प्रहरी जवान उपेन्द्र यादव (बायाँ खुट्टामा चोट, अबस्था सामान्य) सशस्त्र प्रहरी जवान प्रकाश चौहान (खुट्टामा चोट),सशस्त्र प्रहरी जवान महेश यादव (खुट्टामा चोट) , सशस्त्र प्रहरी जवान कृष्ण भुजेल (खुट्टामा चोट) घाइते भएका छन् ।

त्यस्तै सर्वसाधारणतर्फ दुईजना घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गर्दै गरेका बुद्धशान्ति –६ बस्ने ३३ वर्षीय नवराज गौतम( बायाँ हात र कम्मरमा चोट, अबस्था सामान्य) र सोही मोटरसाइकलमा सवार उनकी श्रीमती ३२ वर्षीया कबिता घिमिरे गौतम (बायाँ खुट्टा र टाउकोमा चोट, अवस्था सामान्य ) घाइते भएका हुन् ।

त्यस्तै धेरै भौतिक क्षति भएको छ । आक्रोशितहरुले पूर्वपश्चिम राजमार्गमा रहेका केर्खा ट्राफिक बिट र नेपाल प्रहरी बिट जलाउँदा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै प्रहरी चौकी केर्खामा रहेको सीसीटीभीको मनिटर ६४ ईन्चको २ थान पूर्ण रुपमा फुटेको छ भने प्रहरी चौकी केर्खाको कार्यालय भवनको झ्यालको १६ वटा सिसा पूर्ण रुपमा फुटेको छ । कार्यालय कक्षको टेवल सिसा १ थान, गेटमा भएको प्रहरी चौकी केर्खा लेखिएको डिजिटल बोर्ड १ थान तोडफोड भएको छ ।

त्यस्तै कार्यालय कम्पाउण्डमा राखिएको कमल गाउँपालिकाको दमकलको अगाडीको सिसा र कार्यालय अगाडी राजमार्ग सुरक्षामा राखिएको दुईवटा सीसी क्यामेरा फुटाएका छन् । त्यस्तै प्रहरी सहायक निरीक्षक शिवशक्ति राईले बोकेर गएको डीएसएल क्यामेरा भीडले तानी तोडफोड गरेको छ । ठक्कर दिने प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको बसको अगाडीको सिसा फुटेको छ भने दायाँ र बायाँपट्टीको सिसा सबै फुटेको छ । त्यस्तै मे १ ख २७४४ नम्बरको न्यू सूर्योदय यातायातको बसको दायाँ र बायाँपट्टीको २० वटा झ्यालको सिसा फुटेको र प्रदेश १–०१–००१ ख ४०३७ नम्बरको बसको बायाँ साइडको पछाडिको २ वटा झ्यालको सिसाहरु फुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २९ सेल अश्रुग्यास प्रहार गरेको थियो । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास प्रहार गरेका हुन् । ठक्कर दिने प्र.१–०१–००१ ख ४३३१ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय झिलझिले राखिएको छ भने बस चालक शिवसताक्षी – १ बस्ने ३२ वर्षीय विशाल ठटाललाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

केर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि आज बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्