लक्ष्मी उप्रेती
विर्तामोड,कात्तिक ८ । सचेतनामूलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ ।


इलामसहित झापाका विभिन्न सात वटा रोटरी क्लबहरुले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डाक्टर आनन्दराज खनालले जानकारी दिए । ‘किप नेपाल पोलियो फ्री’ भन्ने मुल नारासहित विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लवहरुले बिर्तामोडमा संयुक्त सचेतनामूलक प्रभातफेरी निकालेका हुन् ।

प्रभातफेरीमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लव अफ भद्रपुर,रोटरी क्लव अफ विर्तामोड, रोटरी क्लव अफ विर्तामोड मिडटाउन, रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ मेचीनगर र रोटरी क्लव अफ इलामसहित सातवटा क्लबका सदस्यहरुको सहभागिता रहेको रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिए ।

विर्तामोडस्थित मुक्तिचोक परिसरबाट ’बाईबाई पोलियो, शान्त बसौं र पोलियोको शिकार नबनौं,पोलियोको अन्त्य गरौं, ‘किप नेपाल पोलियो फ्रि’ ‘विश्व पोलियो दिवस सफल पारौँ’लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित विभिन्न सचेतनामुलक नारा लेखिएका र रोटरीको लोगो अंकित टिसर्ट र क्याप लगाएर निस्केका सहभागीहरुले शनिश्चरे रोड, हिकोला रोड, काँकरभिट्टा रोड, भद्रपुर रोडसहित विर्तामोड बजारको मुख्य भागको परिक्रमा गरेका थिए । बजार परिक्रमापछि सोही स्थानमा आएर र्याली संक्षिप्त सभामा परिणत भएको थियो । रोटरी क्लबका एजी कुमारमणि पोखरेलले संक्षिप्त सभालाई सम्बोधन गदैं रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै एजी पोखरेलले पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले पोलियो उन्मुलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा एजी सुजन प्रधान, विनोद बस्नेतसहित रोटरी र रोट्रयाक्ट क्लबहरूका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्