झापा, कात्तिक ८ । बालमैत्री स्थानीय शासन सम्बन्धी चार दिने प्रशिक्षक प्रशिक्षण बिर्तामोड– ३ सैनिकमोडमा सम्पन्न भएको छ ।


विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोड– ३ सैनिकमोडको आयोजना तथा गौरीगञ्ज गाउँपालिकाको सहयोगमा सो प्रशिक्षण संचालन गरिएको थियो । विषयविज्ञ सुमन ढकालले सहजीकरण गरेको प्रशिक्षणमा बिर्तामोड र गौरीगञ्जका १६ जना सहभागी थिए । सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले २०८३ पौष मसान्तसम्म गौरीगञ्जलाई बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य रहेको बताइन् । उनले बालमैत्री शासन लागू गर्न गाउँपालिकाबासीहरु तत्पर रहेको जानकारी दिइन् । विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट मनिता सुवेदी , मुकेश राजवंशीलगायतले आफ्ना अनुभव सुनाएका थिए ।

विराट सामुदायिक अध्ययन केन्द्रका उपाध्यक्ष केशव पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बालमैत्री कार्यक्रमका संयोजक अर्जुन पाठकले गरेका थिए । बालमैत्री पालिका घोषणा गर्नका लागि विराट सामुदायिक अध्ययन केन्द्रले गौरीगञ्जमा विभिन्न कार्यक्रम गर्दै आएको छ । गौरीगञ्जका दुईवटा वडामा कार्यक्रम संचालन रहेको र बाँकी चारवटा वडामा शुरु गरिएको कार्यक्रम संयोजक पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्